१२ श्रावण २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मुम्बईबाट प्रभु साहले भने, ‘नेताहरु भ्रष्टाचार, लुटमा लागेकाले नेपाली जनता दुःखी छन’ – Nigrani Today
ताजा खबर

मुम्बईबाट प्रभु साहले भने, ‘नेताहरु भ्रष्टाचार, लुटमा लागेकाले नेपाली जनता दुःखी छन’

मुम्बई, ११ साउन ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरुको काम र व्यवहारबाट नेपाली जनता दुःखी भएको बताएका छन् । नेताहरु भ्रष्टाचार, लुटमा लागेकाले नेताहरुबाट नेपाली जनता दुःखी भएको उनले बताए ।

‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ भारतको मुम्बईमा आज (आइतबार) आजपा निकटको आम प्रवासी नेपाली एकता समाज महाराष्ट्र मुम्बईको विशेष कार्यक्रमलाई सम्बोधन अध्यक्ष साहले नेपालको राजनीतिक हालत अहिले ठीक नभएको बताउदै जनता अहिले दुःखी रहेको टिप्पणी गरे ।

‘नेपालको राजनीतिक हालत ठीक छैन । जनता दुःखी छन् । नेताहरुको काम र व्यवहारबाट पनि जनता दुःखी छन् । नेताहरु नै लुट, चोरी र भ्रष्टाचारमा लागेका छन् । देशको बारेमा यस्तो कुरा सुनाउनुपर्दा मलाई दुःख लागेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘देशमा अहिले प्रजातन्त्र हराएको छ, नैतिकता हराएको छ । अहिले देशमा जुन सरकार बनेको छ, त्यसले खुशी हुनुपर्ने, जनतामा हिम्मत बढ्ने काम गर्दैन् । खाली निराश हुनुपर्ने अवस्था सिर्जना भएको छ । यो विषयमा पनि तपाईं हामीले नजर राख्नुपर्छ ।’

उनले नेपाली जनताले परिवर्तनको लागि ठूलो ठूलो आन्दोलन गरेको र त्यसमा आफूले पनि योगदान दिएको सम्झिए । तर नेपालमा अहिले कुनै पनि क्षेत्र खुशी हुन लायक नभएकोमा दुःख व्यक्त गरे । नेपालमा भएको जनयुद्धदेखी जनआन्दोलनलाई सम्झिदै उनले सोही अनुसारको परिवर्तनको अनुभुति नेपाली जनताले नपाएको बताए ।

‘हिजो म जनयुद्धमा सामेल भएँ, जनआन्दोलनमा अग्रभागमा सहभागी थिएँ । संविधान सभामा मैले लगातार लडें । संविधान लेखनको काममा नेताहरुबाट गद्दारी भएको थियो, त्यो देखेपछि मैले विद्रोह गरें । यो धोकाको दस्तावेजमा सही गर्दिनँ भनेर विरोध गरेको थिएँ । आज देशमा अस्तव्यस्त भएको छ,’ आजपा अध्यक्ष साहले भने ।

संविधानलाई उनले बिग्रिएको अण्डा (गण्डा) को संज्ञा दिए । उनले हिजो लोकतन्त्रको लागि लडिएको भएपनि अहिले देशमा लुटतन्त्र बनाईएको दाबी गरे । उनले जित्नेले शासन गर्ने व्यवस्थालाई लोकतन्त्र भनिएको भएपनि नेपालमा दलतन्त्र लादिएको आरोप लगाए । हिजो राजाको अगाडि दलहरुको केही नचलेकोजस्तै आज दलहरुको अगाडि निर्वाचित जनप्रतिनिधिहरुको केही पनि हैसियत नभएको र केही पनि नचल्ने उनको दाबी छ ।

आजपा अध्यक्ष साहले अहिले नेपालमा पार्टीको शासन रहेको बताउदै भने, ‘नेपालमा लोकतन्त्र छैन । यदि नेपालमा लोकतन्त्र हुन्थ्यो भने संसद्को सुप्रिमेसी हुन्थ्यो । अहिले त्यो छैन । हिजो ०७९ को निर्वाचन हुँदा कांग्रेस एउटा गठबन्धनमा थियो, एमाले अर्को गठबन्धनमा थियो । दुई गठबन्धन बनेको थियो । चुनाव भयो । अहिले कांग्रेस र एमालेको सरकार छ । यो भनेको जनताप्रति धोका हो । जोसँग लडेको हो, उसैसँग मिल्ने कुरा गद्दारी हो । पार्टीपनि जनताअनुसार चल्नुपर्छ । जनतासँग एउटा वाचा गरेर भोट लिने अनि काम अर्को गर्ने । यो लोकतन्त्रको उपहास हो ।’

उनले अहिले नेपालमा देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र रहेको आरोप लगाए । उनले आफूहरु लोकतन्त्रको लागि लडेको भन्दै जनताको शासन नल्याएसम्म आन्दोलन र संघर्ष नरोकिने उद्घोष गरे । उनले विदेशमा बसेका नेपालीहरुले पठाएको रेमिट्यान्सको समेत दुरुपयोग गरिएको भन्दै देश कंगाल बनाउने नेताहरुलाई चिन्न जरुरी रहेको बताए । विकसित देशमा बसेका नेपालीहरुले दोहोरो नागरिकता लिएको र नेपालको सम्पत्तिपनि बेचेर विदेश पुर्याउनेजस्तो राष्ट्रघाती काम भएको भन्दै अहिलेको व्यवस्थाको विरोध गरे । उनले नेपालमा तीन तहमा संघीयता रहेको भन्दै यो पनि दुनियाँमा नभएको संघीयता भएको टिप्पणी गरे ।

उनले दुनियाँमा नभएको नाटक नेपालमा संघीयताको नाममा भएको भन्दै आलोचना गरे । उनले संघीयतालाई नेपालमा नपुंशक बनाईएको भन्दै यो सच्याउनुपर्ने माग गरे । उनले नेपालमा समानुपातिकको अवसरपनि दुरुपयोग गरिएको र शासक जातिलाई आरक्षण दिईएको भन्दै आलोचना गरे ।
उनले सबै भाषा, धर्म र संस्कृतिको समान प्रतिनिधित्व हुनुपर्ने आफूहरुको माग रहेको बताए । नेपालमा शासकहरुले बोलीमा एउटा र व्यवहार अर्को गरेको उनको भनाई छ । उनले अहिलेका पार्टीहरुबाट देश चल्न सक्दैन भनेर त्याग गरिदिएको बताए । उनले माओवादी, एमालेमा राम्रो पदमा हुँदापनि आफूले दल त्याग गरेर जनताको लागि संघर्ष गर्न नयाँ दल बनाएर अघि बढेको स्पष्ट पारे । उनले आफू जहिल्यैपनि जनताको पक्षमा उभिने अठोट गरे ।

उनले आफूसँग संख्या र सत्ता नभएपनि सत्य रहेको बताए । सत्य बोकेर हिँड्दा नै गन्तव्यमा पुग्न सकिने उनको भनाई छ । अहिलेका एमाले, कांग्रेस र माओवादी केन्द्रका नेतृत्वहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले आफ्नो पार्टी छोडेर चुनाव लडे जित्न सक्छन् त ? भन्दै साहले प्रश्न गरे । आफूले निर्वाचनको मुखमा एमालेको टिकट त्याग गरेपनि जित हाँसिल गर्नुको कारण सत्य बोक्नु र जनताको साथ रोज्नु भएको साहको भनाई छ । अहिले नेपाली जनताले नयाँ निकास खोजेको साहको भनाई छ । उनले नेपालमा अहिले कांग्रेस र कम्युनिष्ट उस्तै रहेको र एक भएको टिप्पणी गरे ।

उनले नेपालका उच्च ओहोदामा बसेका उच्च पदस्थ व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति सबैका सन्तान र सम्पत्ति विदेशमा रहेको गम्भीर आरोप लगाए । कतिपयले विदेशी नागरिकता लिइसकेकोले अब तिनीहरुलाई विदेशी भन्ने कि नेपाली भन्ने भनेर पनि साहले प्रश्न गरे । उनले नेपालमा लुटेर विदेश लैजानेहरु भगौडा दलालहरु भएको संज्ञा दिए ।

नेपालको लागि काम गर्ने, सोच्ने र श्रम गर्नेहरु अहिले प्रताडित रहेको साहको भनाई छ । ठगी गर्ने, लुट गर्ने र भ्रष्टाचार गर्नेहरुको नै अहिले नेपालमा बोलवाला रहेको साहको आरोप छ । यो प्रवृत्तिलाई तत्काल बदल्नको लागि सबै देशभक्त, इमानदार नेपालीहरु एकजुट हुनुपर्ने साहको आग्रह छ । उनले इतिहासदेखि नै नेपाल भनेको बहादुर, इमानदारहरुको देशको रुपमा चिनिएको स्मरण गराए । दुनियाँको कसैसामू पनि नेपाल कहिल्यै नझुकेको र गुलाम नबनेको पनि उनले इतिहास सम्झाए ।

उनले नेपालमा अहिले दुई किसिमको मान्छे भएको भन्दै एकथरी नेपालमा भएपनि विदेशको लागि सोचिरहेको टिप्पणी गरे । अर्कोथरी नेपालीहरु प्रवास र विदेशमा बसेरपनि नेपालको सोच्ने गरेको उनको भनाई छ । उनले भने,‘मैले नेपालमा दलतन्त्रको विरुद्धमा जब विद्रोह गरेर आम जनता पार्टी बनाएपछि यो मेरो पहिलो विदेश यात्रा हो । मुम्बई नै मैले किन रोजें त ? किनकी तपाईंहरु मेरो लागि खास हो । भारत र नेपालबीचको सम्बन्ध पनि खास हो । भारत हाम्रो लागि खास हो । हाम्रो यात्रा तपाईंहरुबाट सुरु गरेको हो । तपाईंहरुको लगाव र भूमिकाबाट म प्रेरित छु । यहाँबाट कार्यक्रम सुरु गर्न पाउँदा मलाई गौरव छ । खुशी छु । यसर्थ पनि तपाईंहरुलाई म धन्यवाद भन्न चाहन्छु ।’

मुम्बईमा बसेका नेपालीहरुले प्रतिष्पर्धाको दुनियाँमा श्रैष्ठता हाँसिल गरेको भारतको विकासमा समेत टेवा पुर्याएको साहले सम्झिए । ठूला पार्टीका नेताहरु युरोप, अमेरिकालगायतका देशको यात्रामा रहेको र विस्तारै उनीहरु भारत प्रवासमा रहेका नेपालीहरुसँगपनि भेटन आउनसक्ने सुनाए ।

ठूला पार्टीका नेताहरु भोटको राजनीति गर्नको लागि विदेश यात्रामा निस्किने गरेको भएपनि आफू नेपाल र नेपालीहरुको गौरव बढाउनको लागि भूमिका खेल्नकोलागि आह्वान गर्न आएको साहले सुनाए । उनले भने, ‘म त देश र जनताको बारेमा सत्य कुरा सुनाउनको लागि आएको छु । देश र जनताको हितको कुरा गर्न आएको छु । तपाईंहरुको पनि हितको कुरा गर्न आएको छु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button