सर्लाही कांग्रेस सभापति सुरेन्द्र प्रसाद सिंहले दिए राजीनामा

सर्लाही, साउन ६ । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी, संगठन र कार्यकर्ताको हितलाई निरन्तर प्राथमिकता दिँदै आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
२०५६ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको हस्ताक्षरमा कांग्रेसमा प्रवेश गरेका सिंहले लामो समयदेखि पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए । पछिल्लो दुई कार्यकालमा उपसाभापतिको भूमिका निर्वाह गरेका सिंहले २०७८ साल फागुन २९ गतेदेखि सभापति भएर काम गरिरहेका थिए ।
पछिलो पटक म माथि लगाइएको मुद्दाको सन्दर्भमा सम्मानित अदालतले निर्णय गरेको अवस्था छ। अदालतले गरेको निर्णय मान्ने मेरो कर्तव्य हो, तर उक्त निर्णयले मलाई अन्याय भएको मेरो ठहर छ। म माथि भएको अन्यायको, म व्यक्तिगत रूपमा मेरो कानुनी तथा न्यायिक लडाइ लडिरहनेछु सिंहले बताए ।
आफुले अदालतको निर्णय, नेपालको प्रचलित कानुन र पार्टीको विधान बमोजिम सभापतिको रूपमा आफ्नो जिम्मेवारीमा निरन्तर रहने अवस्था रहेन। यसकारण म नियम कानुन र पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति पदबाट राजीनामा दिएको जानकारी दिनुभयो ।
“म पार्टीको आधिकारिक जिम्मेवारीमा नरहे पनि सधैं पार्टी र लोकतन्त्रको संरक्षण तथा मजबुतीका लागि लागिरहनेछु,” सिंहले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।