सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

सर्लाही प्रहरीले विशेष सूचनाको आधारमा हातहतियारसहित एक युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका – ७, सिसौट टोल निवासी २५ वर्षीय छोरा किशन महरा भारतको सोनवर्षाबाट बिआर ०६ डिएम ९५२३ नम्बरको मोटरसाइकल चढी नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्।उनीहरुले हातहतियार बोकेर हिड्ने गरेको सूचनाका आधारमा प्रहरी नायब निरीक्षक रबिन्द्र कार्कीको नेतृत्वमा खटिएको टोलीले बुधबार दिउँसो करिब ३ बजे उनलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक सोधपुछमा किशन महराले आफूले बोक्ने गरेको हतियार श्याम महराको रहेको बयान दिएका थिए।त्यस अनुसार प्रहरीले बागमती नगरपालिका–४, जिरायत टोल निवासी १८ वर्षीय श्याम महरालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले उक्त हतियार बागमती नगरपालिका–१२ मा पर्ने बागमती नदी किनारमा राखेको बताएका थिए।प्रहरीले त्यही स्थानबाट कटुवा पेस्तोलको एउटा नाल बरामद गरेको जनाएको छ। बरामद हतियारसहितको घटनामा संलग्न दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप अनुमतिपछि अनुसन्धान अघि बढाइरहेको छ।