१७ भाद्र २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सीमावर्ती भएकै कारण असुरक्षा बहस निराधार: बलरामै कार्यालय स्थापनामा मेयर कुशवाहाको जोड – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सीमावर्ती भएकै कारण असुरक्षा बहस निराधार: बलरामै कार्यालय स्थापनामा मेयर कुशवाहाको जोड

सर्लाही । बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले इलाका प्रशासन कार्यालयको विषयलाई आन्दोलनको बाटो होइन, सहमति र सहकार्यको बाटोबाट समाधान गर्न आग्रह गरेका छन्।

उनले जारी गरेको सार्वजनिक वक्तव्यमा २०८२ साल भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले देशभरका २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको र सो निर्णयअनुसार बलरा नगरपालिकामा पनि इलाका प्रशासन कार्यालय स्थापना हुने भएको स्पष्ट पारेका छन्।

तर केही नेतृत्वकर्ताहरूले “सुरक्षा संवेदनशीलता र सेवा क्षेत्र सहज नहुने” भन्दै कार्यालय गोडैतामा स्थापना हुनुपर्ने माग अघि सारेको उल्लेख गर्दै मेयर कुशवाहाले यस्तो माग व्यावहारिक, प्रशासनिक तथा वैज्ञानिक दृष्टिले उपयुक्त नदेखिने बताएका छन्।

उनले भनेका छन्, “तराई–मधेशका अधिकांश सदरमुकामहरू भारतीय सीमासँगै छन्, तर कहिल्यै सुरक्षा संवेदनशीलताको बहस हुँदैन। बलरा सीमावर्ती भएकै कारण सुरक्षा संवेदनशील देखाउनु दृष्टिकोणको कमजोरी मात्र हो।”

उनका अनुसार बलरा नगरपालिकाले कार्यालय स्थापनाको विषयमा सबै स्थानीय तहसँग सहकार्य गर्दै बलरा नगर क्षेत्रभित्रै सबैलाई पायक पर्ने स्थान चयन गर्नेमा पूर्ण प्रतिबद्धता जनाएको छ।

मेयर कुशवाहाले आन्दोलनका नाममा जनतालाई सडकमा उतार्नु अनुचित हुने चेतावनी दिँदै भनेका छन्, “यसबाट केही नेताले राजनीतिक लाभ लिन सक्छन्, तर आम जनतालाई कुनै फाइदा पुग्दैन।”

उनले बलरामै कार्यालय स्थापना हुनु आकास खस्ने होइन, बरु सेवा नजिक ल्याउने सुनौलो अवसर हुने भएकाले यसलाई अवसरकै रूपमा ग्रहण गर्न सबैलाई आग्रह गरेका छन्।

पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहले विगतमा आफ्नै जग्गा दान गरेर धनकौलमा अस्पताल स्थापना गरेको उदाहरण दिँदै मेयर कुशवाहाले भनेका छन्, “त्यो अस्पताल सबै नागरिकलाई समान रूपमा पायक नपरे पनि विरोध भएन। त्यस्तै अहिले इलाका प्रशासन कार्यालयको आवश्यकता सबैभन्दा बढी बलरालाई छ, किनभने बलरा र रामनगर सदरमुकाम मलंगवाबाट सबैभन्दा टाढा छन्।”

उनले अन्त्यमा भनेका छन्, “हुनु–नहुने विषयलाई आन्दोलन होइन, संवाद र सहमतिको बाटोबाट समाधान गर्नु नै बुद्धिमानी हो। आउनुहोस्—हातमा हात, काँधमा काँध मिलाएर सहकार्य र समन्वयका आधारमा बलरालाई विकास र प्रगतितर्फ सबलताका साथ अघि बढाऔँ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button