भक्तिपुरमा नेपाल पूर्व प्रहरी इकाइ कमिटी द्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

सर्लाही, असोज ९ – सर्लाहीको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरमा नेपाल पूर्व प्रहरी इकाइ कमिटी ईश्वरपुर–चन्द्रनगरको आयोजनामा आज शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कमिटीका अध्यक्ष शिवनारायण कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा पूर्व प्रहरी परिवारबीच आपसी सद्भाव र हार्दिक शुभकामना आदान–प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ तथा विशिष्ट अतिथि सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासहित अमर प्रहरी परिवार, आश्रित परिवार तथा पूर्व प्रहरी सदस्यहरूको सहभागिता रहेको थियो।
यस अवसरमा ७० वर्ष पूरा गरेका पूर्व प्रहरी कर्मचारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा सहभागितामार्फत पूर्व प्रहरीबीच आपसी एकता, सामाजिक उत्तरदायित्व र नयाँ पुस्तालाई प्रेरणा दिने संदेश प्रवाह गरिएको आयोजकले जनाएको छ।