छठ पर्वमा देशैभरी तिन दिन विदाको माग गर्दै सर्लाहीका प्रजिअलाई ज्ञापन पत्र

सर्लाही,९ कार्तिक । मधेश प्रदेशका सचेत नागरिक, विद्यार्थी, शिक्षक र कर्मचारीहरूले विरेन्द्र कुमार चौधरी नेतृत्वमा छठ पर्वमा देशैभरी तिन दिन विदाको माग गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन । छठ पर्वको बिदामा देखिएको असमानता र धार्मिक–सांस्कृतिक अधिकार सुनिश्चित गर्न मागसम्बन्धी संयूक्त ज्ञापन पत्र दिइएको लोक गायक रविराज साहले बताए । मधेश प्रदेशमा मनाइने छठ पर्व हिन्दु धर्मावलम्बीहरू, विशेषगरी मधेशी समुदायका लागि अत्यन्तै महत्वपूर्ण, आस्थापूर्ण र पहिचानसँग गाँसिएको पर्व हो। यो सूर्यदेव र छठी मइया (उषा देवी) को आराधनाको पर्व हो, जसले आत्मसंयम, शुद्धता र समर्पणको सन्देश दिन्छ।
तर हरेक वर्षझैं यस वर्ष पनि सरकारले केवल एक दिनको बिदा प्रदान गरेको छ, जसले मधेशी समुदायका कर्मचारी, विद्यार्थी र आम नागरिकबीच असन्तोष र निराशा सिर्जना गरेको छ। छठ पर्व चार दिनसम्म चल्ने पवित्र अनुष्ठान हो — जसमा विशेष गरी दोस्रो, तेस्रो र चौथो दिनका पूजा अत्यन्तै महत्वपूर्ण मानिन्छ।
यस्तो अवस्थामा केवल एक दिने बिदा पर्याप्त छैन। धेरैजसो कर्मचारी र विद्यार्थीहरू अन्य प्रदेश वा जिल्लामा कार्यरत छन्, जसका कारण उनीहरू आफ्नो घर फर्केर धार्मिक अनुष्ठानमा सहभागी हुन पाउँदैनन्। यो धार्मिक स्वतन्त्रता र सांस्कृतिक अधिकारमा प्रत्यक्ष हस्तक्षेप भएको युवाहरुले ज्ञापन पत्रमा उल्लेख गरेका छन ।
मधेश प्रदेशका सचेत नागरिक, विद्यार्थी, शिक्षक र कर्मचारीहरूले छठ पर्वका तीन प्रमुख दिन (खरना, संध्या अघ्र्य र उषा अघ्र्य) मा सम्पूर्ण मधेशी समुदायका लागि पूर्ण बिदा घोषणा हुनुपर्ने, विद्यार्थीहरूको परीक्षा तालिका फेरबदल गरी उनीहरूलाई छठ पर्व मनाउने अवसर दिनुपर्ने,मधेशी समुदायको धार्मिक आस्था, सांस्कृतिक परम्परा र पहिचानको सम्मान गर्दै बिदा नीतिलाई व्यवहारिक रूपमा लागू गरिनुपर्ने,भविष्यमा छठ पर्वलाई राष्ट्रिय सम्मानको पर्वको रूपमा मान्यता दिनुपर्ने लगायतको माग अघि सारेका छन । ज्ञापन पत्र बुझदै प्रजिअले जस्ता त्यस्तै आफुले मन्त्रालयमा पठाइदिने प्रतिबद्धत व्यक्त गर्नुभयो ।



