७२ लाखको लागतमा सुन्दरपुरमा सुविधा सम्पन्न आठकोठे विद्यालय भवन निर्माण

सर्लाही,१५ मंसिर । सर्लाही जिल्लाको कौडेना गाउँपालिका वडा नं. १ सुन्दरपुरस्थित श्री देवधारी माध्यमिक विद्यालयमा ७२ लाख रुपैयाँको लागतमा आठ कोठे सुविधा सम्पन्न नयाँ विद्यालय भवन निर्माण सम्पन्न भएको छ । संघीय सरकारको ३५ लाख रुपैयाँ अनुदान तथा कौडेना गाउँपालिकाको ३७ लाख रुपैयाँको साझेदारीमा उक्त भवन निर्माण गरिएको हो ।
नव–निर्मित विद्यालय भवनको सोमबार एक विशेष कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कौशल किशोर राय तथा कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले संयुक्त रूपमा रिबन काट्दै भवनको उद्घाटन गर्नुभयो ।
टेन्डर लागतभन्दा झन्डै आधा मूल्यमा निर्माण
कौडेना गाउँपालिकाले विद्यालय भवन निर्माणका लागि कुल टेन्डर लागत १ करोड ३० लाख रुपैयाँ तोकेको थियो । तर प्रतिस्पर्धात्मक टेन्डर प्रक्रियामार्फत कृष्ण एण्ड लक्ष्मी कन्स्ट्रक्सन, कौडेना–१ ले ७२ लाख रुपैयाँमै टेन्डर लिएर उत्कृष्ट र सुविधा सम्पन्न भवन निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद दासले जानकारी दिनुभयो ।उहाँका अनुसार तोकिएको समयसीमाभित्रै गुणस्तरीय रूपमा भवन निर्माण सम्पन्न गरिएको हो । यसले सार्वजनिक खर्चमा मितव्ययिता र पारदर्शिता दुवै कायम भएको स्थानीयहरुको प्रतिक्रिया छ ।
यसअघि पुराना, जीर्ण र साँघुरा कोठामा पढ्न बाध्य विद्यार्थीहरू अब स्वच्छ, सुरक्षित र सहज वातावरणमा अध्ययन गर्न पाउने भएका छन् ।नयाँ भवन निर्माणपछि विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरू निकै खुसी भएका छन् ।विद्यालयका प्रधानाध्यापकले नयाँ भवनले शिक्षण–सिकाइमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्दै भन्नुभयो,“अब विद्यार्थीहरूलाई सुरक्षित र व्यवस्थित कक्षाकोठामा पढाउन पाउँदा हामी शिक्षकहरू पनि उत्साहित छौँ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुने अपेक्षा गरेका छौँ ।”
उद्घाटन समारोहमा प्रमुख अतिथि कौशल किशोर राय ले मधेश प्रदेश सरकार र संघीय सरकारको सहयोगमा ग्रामीण क्षेत्रमा शिक्षा पूर्वाधार विस्तार गर्ने कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, “शिक्षामा लगानी भनेको राष्ट्रको भविष्यमा लगानी हो । देवधारी विद्यालयजस्ता संस्थाहरूलाई थप सुदृढ बनाउने काममा हामी सबैको साझा दायित्व छ ।”
त्यसैगरी गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु) ले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि थप संरचना निर्माण र शैक्षिक सुधारका कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शिवहरी पोखरेल, नेपाल प्रहरी सर्लाहीका प्रहरी उपरीषक योगेन्द्र खडका,सशस्त्र प्रहरी सर्लाहीका प्रमुख प्रहरी उपरीषक देव बहादुर चन्द,राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शिवजी साह, युएनएफपिए का परियोजना संयोजक बच्चेलला महतो, वडा नं. १ का वडा अध्यक्ष राजेश पट्टेल, लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


