
सर्लाही,१६ मंसिर । सर्लाहीको हरिपुर नगरपालिकामा नगर स्तरीय आठौँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । हरिपुर नगरपालिकाको आयोजना तथा नगर प्रमुख गोपाल पजीयारको अध्यक्षतामा मंगलवारदेखि प्रतियोगिता औपचारिक रूपमा सुरु गरिएको हो ।
नगरपालिकाका शिक्षा अधिकृत नागेश्वर रायका अनुसार यस वर्ष सर्लाहीमै पहिलो पटक हरिपुरमा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता मंसिर १८ गतेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा नगर भित्रका सामुदायिक तथा संस्थागत गरी ७ वटा माविका विद्यालयहरूबाट छात्र–छात्राहरूको उल्लेख्य सहभागिता रहेको छ ।
प्रतियोगितामा सबैभन्दा बढि स्वर्ण पदक, रजत पदक र काष्य पदकको आधारमा पहिलो ,दोस्रो र तेस्रो छुटयाएर शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने शिक्षा अधिकृत रायले बताउनुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, दौड, हाई जम्प, लङ जम्प, सटपुट लगायत विभिन्न खेलकुद विधाहरू समावेश गरिएको छ । सहभागी विद्यालयका विद्यार्थीहरू उत्साहपूर्वक प्रतिस्पर्धामा उत्रिएका छन् ।
उद्घाटन समारोहका प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र चौधरी रहनुभएको थियो । उहाँले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलकुदप्रतिको रुचि बढाउन यस्ता प्रतियोगिताले सकारात्मक योगदान दिने धारणा राख्नुभयो । उहाँले विद्यार्थीहरूलाई खेलकुदलाई केवल प्रतिस्पर्धाका रूपमा नभई अनुशासन, मेहनत र राष्ट्र निर्माणको आधारका रूपमा लिन आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि रञ्जना सरकारले खेलकुदले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने उल्लेख गर्नुभयो । साथै उहाँले ग्रामीण क्षेत्रका प्रतिभावान खेलाडीहरूलाई पहिचान गर्न यस्ता प्रतियोगिता अत्यन्त आवश्यक रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विनय पौडेलले प्रतियोगिता मर्यादित, निष्पक्ष र सफल रूपमा सम्पन्न गराउन नगरपालिकाले आवश्यक सबै तयारी पूरा गरिसकेको बताउनुभयो । खेलमैदानको व्यवस्थापन, खेल सामग्री, स्वास्थ्य सेवा र सुरक्षाको पर्याप्त प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो ।
नगर प्रमुख गोपाल पजीयारले उद्घाटन सत्रमा बोल्दै खेलकुदले विद्यार्थीलाई अनुशासित, स्वस्थ र प्रतिस्पर्धी बनाउने भएकाले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित र व्यापक बनाइने प्रतिबद्धता पनि जनाउनुभयो ।
उद्घाटन समारोहमा जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । हरिपुरमा आयोजना भएको नगर स्तरीय आठौँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताले स्थानीयस्तरका खेल प्रतिभालाई उजागर गर्ने विश्वास गरिएको छ ।



