
सर्लाही । लालबन्दी नगरपालिका–१, नवलपुरमा ५ सय दर्शक क्षमताको सुविधायुक्त र आकर्षक फुटबल रंगशाला निर्माण सम्पन्न भएको छ । स्थानीय जीवेश्वर युवा क्लबको पहलमा मधेश प्रदेश सरकार, लालबन्दी नगरपालिका, वडा कार्यालय तथा विभिन्न दाताहरूको सहयोगमा रंगशाला तयार पारिएको हो ।
क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीका अनुसार मधेश प्रदेशकै नमूनाको रूपमा प्यारापिटसहितको रंगशाला निर्माण गरिएको हो । रंगशालामा ५ सय दर्शक अट्ने प्यारापिट, ड्रेसिङ रुम, प्लेयर बक्स, शौचालय, बाथरुमलगायतका आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ ।
सबै निकायको सहयोग र सहकार्यबाट ओझेल र उपेक्षामा परेको फुटबल मैदानलाई व्यवस्थित रंगशालामा रूपान्तरण गर्न सफल भएपछि क्लबका पदाधिकारी तथा स्थानीय फुटबल प्रेमीहरू उत्साहित भएका छन् ।
नयाँ रंगशालामा तत्कालै प्रथम लालबन्दी मधेश प्रदेश आमन्त्रण मेयर गोल्डकप–२०८२ आयोजना गर्ने तयारी भइरहेको क्लबका सल्लाहकार राजु राईले जानकारी दिए । प्रदेशस्तरीय फुटबल प्रतियोगिताका लागि लालबन्दी नगरपालिका कार्यालयले आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको पनि राईले बताए ।

रंगशाला निर्माणका लागि सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेशसभा सदस्य बेची लुंगेलीले आफ्नो संसदीय विकास कोषबाट उपलब्ध गराएको १० लाख रुपैयाँबाट खेल मैदान स्तरोन्नतिको काम सुरु गरिएको थियो । हालसम्म प्रदेशसभा सदस्य लुंगेलीको १० लाख रुपैयाँसहित प्रदेश खेलकुद मन्त्रालयको ६५ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालयको १५ लाख र वडा कार्यालयको १७ लाख रुपैयाँ खर्च भइसकेको क्लबका अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
यसका अतिरिक्त विभिन्न व्यक्तिहरूले दराज, कुर्सी, टेबल, पंखा, बत्ती, बोरिङलगायतका सामग्री सहयोग गरेका छन् । साथै पिसजोन इङ्गलिस बोर्डिङ स्कुल, लालबन्दी–१ र कम्युनिटी वेलफेयर इङ्गलिस स्कुल, लालबन्दी–६ ले एक–एक वटा प्लेयर बक्स निर्माण गरेर सहयोग गरेको जीवेश्वर युवा क्लबले जनाएको छ ।
नव निर्मित रंगशालाले सर्लाहीमा फुटबल खेलको विकास र स्थानीय युवाको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।



