सर्लाही–२ का उम्मेदवार चन्द्रभूषण ‘सिबि’ साहद्वारा आम जनता पार्टी परित्याग

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका प्रत्याशी चन्द्रभूषण (सिबि) साहले आम जनता पार्टी परित्याग गरेका छन्। साहले आज एक विज्ञप्ति जारी गर्दै छठी मातालाई साक्षी राखेर पार्टीको सम्पूर्ण जिम्मेवारीबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेका हुन्।
उनले आफ्नो राजनीतिक यात्राका क्रममा आम जनता पार्टीमार्फत प्राप्त अनुभवलाई महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। “यो अभियानले मलाई धेरै सिकायो, तितामिठा अनुभव र अनुभूति दिलायो, जसले मलाई अझ परिपक्व र सजग बनाएको छ,” साहले विज्ञप्तिमा भनेका छन्।
साहले यस अवधिमा आफूलाई साथ, सहयोग र विश्वास गर्ने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै ती अनुभवहरू आगामी दिनमा मार्गदर्शनको आधार बन्ने बताएका छन्। उनले आफ्नो निर्णयलाई एउटा अध्यायको अन्त्यको रूपमा व्याख्या गर्दै देश, जनता र समाजप्रतिको समर्पण भने निरन्तर रहने स्पष्ट पारे।
“यो एउटा अध्यायको अन्त्य हुन सक्छ, तर देश, जनता र समाजप्रतिको मेरो प्रतिबद्धता कहिल्यै अन्त्य हुने छैन,” उनले भनेका छन्।
विज्ञप्तिको अन्त्यमा साहले छठी मैयासँग सबैको कल्याणको कामना गरेका छन्।



