हरिवनमा निःशुल्क आँखा शिविर सम्पन्न, ६ सयभन्दा बढी लाभान्वित

सर्लाहीको हरिवन नगरपालिकामा सञ्चालित निःशुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। हरिवन नगरपालिका र नेपाल नेत्र ज्योति संघ अन्तर्गतको आँखा उपचार केन्द्र सुखेपोखरी, हरिवन सर्लाहीको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरमा कुल ६०५ जनाले आँखा परीक्षण गराएका थिए, जसमध्ये ३६१ जना महिला र २४४ जना पुरुष रहेका छन्। हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीका अनुसार जाँच गरिएकामध्ये १३६ जनामा मोतियाविन्दु रोग पहिचान भएको छ।
त्यस्तै, १२० जनालाई निःशुल्क चश्मा वितरण गरिएको पनि जानकारी दिइएको छ। शिविर चैत्र १५ गतेदेखि सुरु भई विभिन्न स्थानमा सञ्चालन गरिएको थियो। पहिलो दिन हरिवन अस्पताल ससापुरमा, चैत्र १६ गते घुर्कौली स्वास्थ्य चौकीमा, १७ गते अत्रौली स्वास्थ्य चौकीमा तथा बुधवार हरिवन स्वास्थ्य चौकीमा सेवा प्रदान गरिएको थियो।
मोतियाविन्दुका बिरामीहरूका लागि चैत्र २० र २१ गते आँखा उपचार केन्द्र सुखेपोखरीस्थित बाल पोषण योजनाको भवनमा गौर आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो।
साथै, मोतियाविन्दुका बिरामीलाई थप परीक्षणका लागि आँखा उपचार केन्द्रसम्म लैजान हरिवन नगरपालिकाले निःशुल्क यातायातको समेत व्यवस्था गरेको जनाएको छ।



