२१ चैत्र २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएकी महिलाका परिवार क्षतिपूर्ति नपाएको गुनासो – Nigrani Today
ताजा खबर

मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएकी महिलाका परिवार क्षतिपूर्ति नपाएको गुनासो

सर्लाही: सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएकी एक महिलाका परिवारले अहिलेसम्म क्षतिपूर्ति रकम नपाएको गुनासो गरेका छन्।

गत माघ १६ गते बिहान बिर्ताबाट बर्कुरवातर्फ गइरहेको बीआर ३० एपी ३०३७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय ६५ वर्षीया शान्तिदेवी ठाकुर गम्भीर घाइते हुनुभएको थियो। घाइते ठाकुरलाई बयलवासमा सामान्य उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल लगिएकोमा सोही दिन बेलुकापख उपचारकै क्रममा मृत्यु भएको थियो।

दुर्घटना भएको दुई महिना बढी बितिसक्दा पनि कानुनबमोजिम पाउनुपर्ने क्षतिपूर्ति रकम नपाएको मृतकका कान्छा छोरा सन्जित शर्माले गुनासो गर्नुभयो। मृतकका परिवारले आज पत्रकार सम्मेलन गर्दै क्षतिपूर्ति रकम उपलब्ध नगराइएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

दुर्घटनापछि पक्राउ परेका मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–३ बर्कुरवाका २० वर्षीय बिशाल महतो सर्लाही जिल्ला अदालतको आदेशअनुसार एक लाख रुपैयाँ धरौटी बुझाएर हिरासतमुक्त भइसकेका छन्।

मृतकका परिवारले चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको अवस्थामा पनि प्रहरीले सामान्य ढंगले मुद्दा अघि बढाएर उनलाई छिट्टै रिहा गराउन सहयोग गरेको आरोप लगाएका छन्। साथै, घटनास्थलमा उठाइएको मुचुल्का र अदालतमा पेश गरिएको विवरणमा फरक परेको दाबी गर्दै संलग्न प्रहरीमाथि कारबाहीको माग समेत गरेका छन्।

यता प्रहरीले भने मृतकका परिवारले पाउने पाँच लाख रुपैयाँ क्षतिपूर्ति तथा ५० हजार रुपैयाँ क्रिया खर्च जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट प्राप्त गर्न सकिने जनाएको छ। इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक नितेशकुमार सिंहका अनुसार चालकले जिल्ला प्रशासन कार्यालयमा पाँच लाख ५० हजार रुपैयाँ धरौटी राखिसकेको र आवश्यक कागजातसहित कार्यालयमा गएर सो रकम मृतकका परिवारले लिन सक्ने बताएका छन्।

प्रहरीले पीडित परिवारलाई कसैको प्रभावमा नपरी आवश्यक प्रक्रिया पूरा गरी सिधै जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button