नियन्त्रणमा लिइएको किसानलाई छाडेपछी सर्लाहीमा माछा किसानको धर्ना स्थगित
सर्लाही,१३ असार । विभिन्न माग पुरा तथा नियन्त्रणमा लिइएको किसानलाई छाडेपछी सर्लाहीमा माछा किसानको धर्ना स्थगित भएको छ । चर्को विद्युत् महसुल असुलेको, अनावश्यक पटक पटक किसानलाई दुख दिएको, पोखरीमा पानि हाल्ने मोटर खोली प्राधिकरणमा मनपरी ल्याउने गरेको भन्दै बुधवार किसानहरु नेपाल बिद्युत प्राधिकरण बयलवास फ्युज शाखामा सोधपुछको लागि आउँदा फियुज शाखा प्रमुख प्रविण यादव दिउसै मापसे सेवन गरेको र जथाभावी बोलेपछी किसानहरु आक्रोशित बनेको माछा किसान संघर्ष समितिका पुर्व अध्यक्ष यादव प्रसाद मैनालीले आरोप लगाउनुभयो । आक्रोशित किसानहरुको भिडमा नेपाल बिद्युत प्राधिकरण बयलवास फ्युज शाखामा तोडफोड समेत भएको थियो । तोडफोडमा संलग्न भएको भन्दै ईलाका प्रहरी कार्यालय केशरगंजले दुई जना किसानलाई नियन्त्रणमा लिएको थियो । माछा किसान संघर्ष समिति, सर्लाहीको आयोजनामा हिजो देखि नै किसानहरु ईलाका प्रहरी कार्यालय केशरगंजको अगाडी धर्नामा बसेका थिए ।आन्दोलनरत किसान र प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहितको सरोकार बाला पक्ष सँग सहमती पश्चात किसानहरुलाई छाडेपछी तथा विभिन्न माग पुरा भएपछी धर्नाको कार्यक्रम स्थगित गरेको किसानका नेता रंजित सहनीले जानकारी गराउनुभयो ।
सहमतीमा किसानहरुले आफना समस्या समाधानका लागि ज्ञापन पत्र मार्फत सम्वद्ध निकाय नगरपालिका, विद्युत प्राधिकरण र जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने, विद्युत प्राधिकरण वितरण केन्द्र लालबबन्दी अन्तरगत ईश्वरपुर नो लाइट सेक्सनका सेवा प्रदायक कर्मचारी र माछा पालक किसानका प्रतिनिधिहरु वीच भएको बादविबाद र त्यसबाट उत्पन्न असहज परिस्थिति पश्चात भएको तोडफोडको घटनाबाट भएको भौतिक क्षतिको मूल्यांकन गरी सम्बन्धित पक्षबाट तिराउने, भराउने, विद्युत वितरण केन्द्रका कर्मचारीहरुको आचरण, व्यवहार, र अनुशासन सुधारमा वितरण केन्द्रको नेतृत्वले ध्यान दिनुपर्ने लगायत विभिन्न सहमती भएको थियो ।
आन्दोलनको क्रममा निदोर्ष माछा किसानहरुलाई नियन्त्रणमा लिएपछी किसानहरु धर्नामा बसी पक्राउ गरेका किसानलाई निशर्त रिहाईको माग गर्दै माछा किसान धर्नामा बसेको थियो किसान नेता सहनीको भनाई छ । सरकारले एकातिरबाट पोखरी खन्न अनुदान दिएर उस्काउने र अर्कोतर्फबाट विभिन्न शुल्क असुल्ने गरेको सहनीको भनाइ छ । माछापालन गर्ने किसानलाई विद्युत् प्राधिकरणले औद्योगिक मिटरअनुसार शुल्क असुलेर ढाड सेकेको माछा किसान संघर्ष समितिले जनाएको छ । यस अघि पनि माछा किसानहरु गत चैत्र ९ गते पूर्वपश्चिम राजमार्गस्थित फुलजोर चोकमा सडकमै माछा फालेर विरोध गरेका थिए ।