पानीले डुबायो धान खेत, हिलाम्मे बने गराहरु
भक्ती रिजाल
सर्लाही ।अत्याधिक वर्षा र डुबानले पाक्न लागेको धान बालीमा क्षती पुगेको छ । केही दिन अगाडी भएको अत्याधिक वर्षा र भेल बाढीका कारण पाक्न लागेको धान बालीमा ठूलो असर परेको हो ।
हजरियाका किसान राजन बस्नेत भन्छन् – “पाक्न लागेको धान बालीलाई पानी र हावाले ढालिदिएको छ । धानका बाला हिलोमा लत्पतिएका छ्न् । दशैंमा भण्डारण गर्नु पर्ने धान बाली उझाड बन्यो, अब दशैं के गरि मनाउने होला ?
यो बर्षाले गर्दा भदैया धान बालीमा धेरै क्षती पुगेको हरिवनका किसान प्रकाश लुइँटेल बताउंछन् ।
जिल्लाका हजरिया, मानपुर, मुर्तीया, राजघाट लगायतका धेरै स्थानका धान बालीमा क्षती पुगेको बताइएको छ । मध्य असोजमा परेको पानीले किसानको खुसी लुटेको बताइएको छ ।
रौतहटका किसान पान्डब किङरिङ मगर भन्छन् -” आफ्नो पनि काट्ने बेला भैसकेको धान बाली बर्षाका कारण हिलोमा डुब्यो, सम्हाल्ने स्थिति नै छैन, दशैं कसरी मान्ने होला भन्ने चिन्ता बढेको छ ।
अप्रत्याशित रुपमा परेको पानीले भदैया धान, मंसिरे धान तथा उखु बालीलाई पनि क्षती पुर्याएको छ ।
कतिपय स्थानमा उखु बाली लडाएको छ भने तरकारी बालीमा पनि क्षती पुर्याएको किसानहरुले बताएका छन् ।