१६ माघ २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ठग, भ्रष्टाचारी, लुटेराहरुले मुलुक जोगाउन सक्दैनन् : प्रभु साह – Nigrani Today
Uncategorized

ठग, भ्रष्टाचारी, लुटेराहरुले मुलुक जोगाउन सक्दैनन् : प्रभु साह

रौतहट, १५ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र जोगाउन सक्ने असली नायक मुलुकले खोजेको बताएका छन् । देशले बालेन शाहजस्तो नक्कली नायक नखोजेको टिप्पणी उनले गरे ।

आजपाद्धारा आज (बिहीबार) रौतहटको मौलापुरमा आयोजित पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार, अगुवा नेताकार्यकर्ताको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले नक्कली नायक, ठग, भ्रष्टाचारी, लुटेराहरुले मुलुक जोगाउन नसक्ने बताए ।

‘अहिले राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र नै गम्भिर संकटमा छ । यसलाई जोगाउन सक्कली नायकको खोजि भइरहेको छ । गरिव, दिनदुखी, निमुखा, भुईंमान्छेको सेवक खोजेको छ । यो चुनाव राम्रो र नराम्रोबीचको लडाईं हो,’ आजपा अध्यक्ष साहले भने, ‘देशले बालेन शाहजस्तो नक्कली नायक खोजेको छैन, देशले त असली नायक खोजेको छ । यि नक्कली नाकाबधारी नायक, ठग, भ्रष्टाचारी, लुटेरहरुबाट मुलुकको राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र जोगाउँन सकिदैन । त्यसैले हामी सबै सचेत हुन आवश्यक छ ।’

बालेनको नाममा नक्कली हावा चलाउन अहिलेको प्रधानमन्त्री सुशीला कार्कीहरु नै तम्सिएको बताउदै उनले अवरवादीहरुको झुण्डलाई आम जनताले तह निर्वाचनबाट तह लगाउन तयार रहेको बताए ।

आजपा अध्यक्ष साहले वर्तमान सरकार एकपक्षीय देखिएको बताए । ‘रास्वपाका चटकेहरुलाई प्रहरी तैनाथ गर्ने, सुरक्षाकर्मी अघिपछि लगाउने काम गरेको छ । पूर्वमन्त्री, पूर्वसांसदहरुको सूरक्षाकर्मी फिर्ता गर्ने तर रास्वपाका नेता, नेता पत्नीहरुलाई सुरक्षाकर्मी दिएर गृहमन्त्री ओमप्रकाश अर्यालले तामासा गरिरहेका छन,’ साहले भने ।

उनले यो सरकार नै रास्वपाको भएको भन्दा फरक नपर्ने समेत बताए । सरकारमा बसेका मन्त्रीहरु धमाधम आफ्नो दायित्व भुलेर रास्वपाबाट संसद् छिर्ने दाउमा लागेको सबैले देखेकै बिषय भएको उनले बताए ।
‘राजनीतिमा आएको एक महिना नहुँदै नयाँ र विकल्प दिन्छु भन्नेहरुहरु विचौलियाको चंगुलमा फसेका छन्, मालपानीहरुको दानापानीमा चल्न थालेका छन,’ उनले भने ।

जेनजी हत्यारा, लुटेरा, भ्रष्टाचारी र जेनजी हाइज्याकरहरुको मिलिभगतमा जेनजी सहित आम नागरिकले दुख पाइरहेको उनले बताए । असली जेनजीहरु अहिले पनि जेलमा रहेको बताउदै उनले नक्कलीहरुको सरकारमा पनि हालीमुहाली रहेको टिप्पणी गरे ।

‘सुशीला र ओमप्रकाशहरु जेनजी आन्दोलनका अपहरणकारी हुन् । यिनीहरुले जेनजी आन्दोलनको मर्म र भावनामाथि सरकारमा बसेर प्रहार गरे । एउटा पनि माग पूरा गर्न सकेनन् । आज जेनजी आन्दोलनमा योगदान दिएकाहरुको विचल्ली छ। घाईतेहरुको अवस्था नाजुक छ । तर, पानी बाँड्ने सुदनहरु र युवा भाँड्ने बालेनहरुको हालीमुहाली छ । देश सोसल मिडियामा देखाएको क्रेजले बन्दैन । बालेन शाह नयाँ होईन, बालेन त काठमाडौंमा असफलसिद्ध भएको राजनीतिज्ञ हो । काठमाडौंबाट गरिवलाई लखेटेको छ । सुकुम्वासीलाई अत्याएको छ । कवाडीहरुको काम खोस्यो, गाँस खोस्यो । परिवार पाल्न सडकपेटीमा साग बेच्ने आमाहरुलाई रुवायो । साईकलमा तरकारी र फलफूल बेच्नेहरुको साईकल चोर्यो,’ आजपा अध्यक्ष साहले भने ।

उनले २१ फागुनमा हुने निर्वाचन पछि आम जनताको सरकार बन्ने दावी गरे । आम जनता, आम मतदाताले आम जनता पार्टीका उम्मेदवारलाई मतदान गरेर आम जनताकै सरकार बनाउन चाहेको ठोकुवा उनले गरे ।

‘अब आम जनताको सरकार बन्नुपर्छ । त्यसको लागि संघर्ष, न्याय र सत्यको बाटोमा हिँड्ेकाहरुलाई जनताले साथ दिन्छन् भन्नेमा म ढुक्क छु । हामीले जनतालाई शीरमा राखेर हिँडेका छौं । मलाई विश्वास छ–अन्तिममा भिलेनहरुको भागाभाग हुन्छ, हिरोको जित निश्चित् छ,’ आजपा अध्यक्ष साहले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button