२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
भारतीयलाई नेपालमा सहज प्रवेश, नेपालीलाई अझै पनि भारततर्फ जान असहज – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

भारतीयलाई नेपालमा सहज प्रवेश, नेपालीलाई अझै पनि भारततर्फ जान असहज

सर्लाही,१७ असोज । सरकारले भारतीय सीमानाका खोल्ने निर्णय गरेको एक साताभन्दा बढी भइसकेको छ तर नेपालीहरूको लागि भने अझैसम्म पनि भारतको यात्रा सहज हुन सकेको छैन । सर्लाही सहितप्रदेश २ का विभिन्न नाकाबाट नेपालीलाई अझै पनि भारततर्फ जान सहज छैन ।

भारतीय नागरिकहरू सहजरुपमा मुख्य नाकाबाट आउन–जान पाउँछन् तर नेपाली नागरिकलाई भने चोर बाटो हुँदै भारत जान बाध्य छन् ।नेपाल सरकारले सीमानाका खोल्ने निर्णय कार्यान्वयनमा ल्याएपछि प्रदेश २ का विभिन्न नाकाहरूबाट सयौँ भारतीय गाडी नेपाल भित्रिने गरेका छन् । तर नेपालबाट भारततर्फ जानका लागि चोर बाटो हुँदै पैदल जानु पर्ने बाधय्ता छ ।

नेपाल सरकारले सीमानाका खुल्ला गरेपनि भारत सरकारले अझै आफ्नो तर्फको नाका खुल्ला गरेको छैन । वारीसाधनको प्रवेश पूर्णरुपमा बन्द गरिएको छ ।सीमानाकासँग जोडिएका क्षेत्रहरूबाट दैनिक हजारौँ नेपाली नागरिक किनमेल गर्न भारततर्फ जाने गर्छन् । नाका खुला नभएपछि उनीहरु चोरबाटोबाट आवातजावत गर्दै आएका छन् ।

लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा शुक्रबारदेखि सर्लाहीमा एकतर्फि रुपमा सञ्चालनमा आएको छ । भारतले बन्द गरेर राखेपनि नेपाल पक्षले भने सीमामा लगाएको छेकाबार हटाएको छ । असोज १० गतेनै जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सीमा सञ्चालन गर्ने निर्णय गरेको थियो । स्थानीय तहले सीमा नाकामा हेल्प डेक्स व्यवस्थापन गर्न नसक्दा केही ढिलाई हुन पुगेको थियो । नेपाल–भारत सीमा नाकासँग जोडिएका स्थानीय तहले आ–आफ्नो पालिकाको नाकामा हेल्प डेक्सको स्थापना गरेपछि नेपाल तर्फबाट नाका सुचारु भएको छ ।

मलंगवाको गोरखकाली मुख्य नाकासहित अन्य ७ वटा छोटी नाका पनि सञ्चालनमा आएको छ । सबै नाकामा स्थानिय तहले हेल्प डेक्सको व्यवस्थापन गरेपछि जिल्ला नाकाहरु सञ्चालनमा आएको सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वाटर सर्लाहीको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए। सर्लाहीमा मलंगवाको गोरखकालीस्थित मुख्य नाकासहित छोटी नाकाहरु संग्रामपुर, पर्सा, त्रिभुवननगर, भाडसर, बाराउद्योरण, फेन्हारा र बलरा सञ्चालनमा आएको हो ।

भारतीय नाका खुल्ला गराउनका लागि आवश्यक समन्वय भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिए। ‘जिल्ला स्तरबाट प्रयास भइरहेको छ’, प्रजिअ महतोले भने, ‘आशा गरौं, छिट्टै खुल्छ ।’ हामी प्रयास जारी राखेका छौं । तर, दुई देशको कुरा भएकाले कुटनीतिक पहलबाट नै केही हुन्छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थान सम्बन्धी आदेश २०७८ तथा जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णयअनुसार सीमा नाका खुल्ला गरिएको प्रजिअ महतोले बताए ।

सीमा सञ्चालनमा आएपछि पानी र हिलोबाट कष्टपूर्ण यात्रा गर्दै आएका यात्रुहरुलाई आवतजावत गर्न सहज भएको नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताए । ‘सीमा नाका बन्द हुदाँ निकै कठिनाई हुदैं आएको थियो’, चौधरीले भने, ‘धानखेत हुदैं मानिसहरुले यात्रा गर्नु पथ्र्यो ।’भारतसँग बेटीरोटीको सम्बन्ध छ । चाडवाडको समयमा धेरै मानिसहरु भारतबाट नेपाल र नेपालबाट भारत जान्छ । गत वर्ष निकै कठिनाई भएको थियो । यसवर्ष समयमै नेपालले नाका सञ्चालनमा ल्याएको छ ।

भारतीय पक्षले नाका सञ्चालनमा ल्याएपछि झन सजिलो हुने चौधरीले बताए । भारतीय सुरक्षाकर्मीसँग कुरा भएको छ । उनीहरुले माथिबाट नाका खोल्ने सम्बन्धी कुनै आदेश नआएको बताउँदै आएका छन् । माथिल्लो निकायबाट आदेश आउनै बित्तिकै नाका सुचारु हुने भारतीय पक्षले जानकारी गराएको चौधरीले बताए । एक दुई दिनमा कुनै पहल भएन भने सीतामढी गएर माथिल्लो निकायका सुरक्षा पदाधिकारीसँग कुरा गर्ने जाने चौधरीको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.