सर्लाहीमा राप्रपाको एकाता अधिवेशन सम्पन्न,रायको अध्यक्षतामा २० सदस्यीय जिल्ला कमिटी गठन

राजिव शाह
मलंगवा,२२ कार्तिक । सर्लाहीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जिल्ला एकाता अधिवेशन सम्पन्न भएको छ । सोमबार सर्लाहीको सदरमुकाम मलंगवामा अधिवेशन सम्पन्न भएको हो ।पार्टीका राष्ट्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनबाट सत्यनारायण राय यादव सर्वसम्मति अध्यक्षमा चयन भएका हुन् ।
अध्यक्ष यादव सहित २० सदस्यीय जिल्ला कमिटी गठन भएको छ । साथै सोही अधिवेशनबाट सर्लाहीका चारवटै संसदीय निर्वाचन क्षेत्रका अध्यक्षहरुको समेत चयन भएको पार्टीले जनाएको छ ।अधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष लोहनीले देशमा प्रधान न्यायाधीशको विवाद लगायतले राजनीतीक संकट आएको प्रतिक्रिया दिए ।
लोहनीले भने “देशमा ब्यापक भ्रष्टाचार र बेरोजगारी बढेको छ । राजनीतिक संकट उत्पन्न भएको छ । यसको निकासका लागि राप्रपालाई अभियानका रुपमा अगाडी बढ्नु पर्छ ।” उनले अभियानलाई अगाडी बढाउन राप्रपाका नेता कार्यकर्तालाई निर्देशन पनि दिए । पुर्वमन्त्री समेत रहेका प्रदेश २ का अध्यक्ष रामचन्द्र रायले मधेसलाई उपेक्षा गरेर गर्ने राजनीती मधेसमा भलो नहुने बताए ।
नेपाली काङ्ग्रेस एमाले माओवादीबाट मधेसी जनता पटकपटक ठगिएको आरोप लगाउदै मधेशलाई उपेक्ष गरेर गर्ने राजनीतिबाट कसैको भलो नहुने बताए । उनले राप्रपा मधेसको मेरुदण्ड भएको जिकिर गरे ।
कार्यक्रममा सांसद एवं पार्टीका महामन्त्री राजेन्द्र लिङ्देल, केन्द्रीय सदस्य श्याम तिमन सिंह, भरत गिरी, प्रदेश न–२ अध्यक्ष एवं केन्द्रिय उपाध्यक्ष रामचन्द्र राय, केन्द्रीय सदस्य मिना झा लगायत पार्टीका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।