१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
किशोर किशोरीहरुले मेयरलाई बुझाए ज्ञापन पत्र – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाजस्थानीय

किशोर किशोरीहरुले मेयरलाई बुझाए ज्ञापन पत्र

सर्लाही, २२ माघ। बालबालिका तथा किशोर किशोरीहरु भविष्यका कर्णधार मात्र होइनन् वर्तमानका साझेदार पनि हुन् भन्ने धारणा सहित किशोर किशोरीको समग्र विकासका लागि सर्लाहीको लालबन्दीमा संचालित १० दिने रुपान्तरण जीवन उपयोगी सीप तथा आत्मरक्षा तालिम समापन भएको छ ।

तालिम समापनको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै हरिपूर्वा नगरपालिकाका प्रमुख सियाराम रायले बालबालिका तथा किशोर किशोरीहरुको विकास र सशक्तिकरणका लागि नगरपालिकाले बजेट बिनियोजन गरी काम थालनी गरेको कुरा बताउनुभयो । “बालविवाह जस्ता सामाजिक कुरिती रोक्न अति जरुरी छ ।” नगर प्रमुख रायले भन्नुभयो “वडा स्तरमा बाल अधिकार समिति गठन, बाल क्लब गठन, क्षमता अभिवृद्धिका काम पनि भइरहेको छ, बालबालिकाको सवालमा नगरपालिका सदैव सकारात्मक छ, बालबालिका किशोर किशोरीको लागि नगरपालिकाको ढोका सधैं खुला छ ।”

यसैगरी पर्सा गाउँपालिका वडा नं. ४ का अध्यक्ष उमेश रायले सबैसँग मिलेर बालबालिकाको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । सोही अन्तरक्रिया कार्यक्रममा बोल्दै वल्र्डभिजन इन्टरनेसनल नेपालका फिल्ड कार्यक्रम प्रमुख हरि प्रसाद उपाध्यायले बालबालिकाको सशक्तिकरणका लागि स्थानीय तहसँग मिलेर काम गरिरहेका जानकारी दिनुहुँदै बालबालिकाका आवाज स्थानीय तहको योजना निर्माण प्रक्रियामा समावेश हुनु पर्ने र यसका लागि संस्थाले सहजीकरण गर्ने कुरा बताउनुभयो ।

सोही अवसरमा सहभागी हरिपूर्वा नगरपालिका तथा पर्सा गाउँपालिकाका किशोरकिशोरीहरुले सरोकारवालाहरुलाई विभिन्न प्रश्न तथा जिज्ञासाहरु राखेका थिए । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका सभापति टंक बहादुर क्षेत्री, बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की, प्रहरी नायव निरिक्षक जितेन्द्र चौधरी, कानून व्यवसायी दिवाकर झा लगायतले किशोर किशोरीहरुको जिज्ञासाको उत्तर दिनुभएको थियो ।

यसैबीच सोही कार्यक्रममा हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका किशोर किशोरीहरुले बालबालिका तथा किशोर किशारीको विकास र सशक्तिकरणसँग सम्वन्धित १६ बुँदे ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्रमा बालविवाह अविलम्व रोकिनु पर्ने, बालबालिकाको क्षेत्रमा स्थानीय तहबाट पर्याप्त बजेट बिनियोजन गरी कार्यान्वयन गर्नु पर्ने, बालमैत्री स्थानीय शासन लागु गर्नु पर्ने, पालिकामा बाल कोषको व्यवस्था हुनु पर्ने जस्ता विभिन्न विषयहरु समावेश गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.