१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
नारी दिवस : अनेमसंघद्वारा साताव्यापी कार्यक्रम सार्वजनिक – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

नारी दिवस : अनेमसंघद्वारा साताव्यापी कार्यक्रम सार्वजनिक

सोम दियाली
सर्लाही , २१ फागुन । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ सर्लाहीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाउने भएको छ । शनिवार हरिवन स्थित मानवसेवा आश्रममा पत्रकार सम्मेलन गर्दै संघले हरेक वर्ष मार्च ८ का दिन मनाईदै आएको दिवस यसपटक मानव सेवा आश्रममा फलफुल वितरण गर्ने, वृद्धाश्रममा मिष्ठान्न भोजन गराउने लगायतका कार्यक्रम गरि अभियानकै रुपमा साताव्यापी मनाउन लागेको जानकारी दिएको हो ।

‘११२औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस भव्यताका साथ सफल पारौं, समृद्ध नेपाल निर्माणका लागि स्थानीयत तहमा महिला प्रमुखमा समान उमेदवारी सुनिश्चित गरौं’ भन्ने मूल नाराका साथ सुरु भएको अभियान अन्तर्गत शनिवार पहिलो दिन आश्रमका आश्रितहरुलाई फलफुल तथा खाजा वितरण गरिएको थियो । अभियान अन्तर्गत दोश्रो दिन आइतबार जिल्लाकै लालाबन्दी नगरपालिका २ मा रहेको पदमभुवनेश्वरी वृद्धासेवा आश्रममा मिष्ठान्न भोजन गराउने कार्यक्रम रहेको संघकी सचिव पार्वती विश्कर्माले जानकारी दिईन् ।

त्यस्तै तेश्रो दिन सोमबार जिल्लाका विभिन्न स्थानमा रहेका वर्थिङ्ग सेन्टरहरुको अवलोकनगरी सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने, मंगलवार रामनगर गाउँपालिकाको खैरवाबजार र बुधबार हरिवनमा महिला भेला तथा स्थानीय निर्वाचन केन्द्रीत महिला भेला, सचेतना कार्यक्रम तथा अन्तरक्रिया गरिनेछ । छैंठौं दिन बिहीबार आठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्ने र अन्तिम दिन फागुन २७ गते जिल्लाको चन्द्रनगर गाउँपालिकामा रहेको ५२ विघे सुन्दर प्राकृतिक नाडीमन ताल किनारमा अभियानको समापन गर्ने कार्यक्रम रहेको संघकी सचिव विश्वकर्माले जनाईन् ।

साताव्यापी अभियानबारे जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य कमलादेवी महतोले हरेक तहमा महिलाको प्रतिनिधित्व ४० प्रतिशत हुनुपर्ने भनेर आफूहरुले लडाईँ लडेको बताईन् । उनले महिलाहरुलाई पदमा विजयी गराउन नेतृत्वले भूमिका खेल्नु पर्ने बताईन् । त्यस्तै पार्टीकै केन्द्रीय सदस्य एवं संघकी जिल्ला अध्यक्ष कल्पना कटुवालले आगामी स्थानीय तहको निर्वाचनमा बढी भन्दा बढी महिलाको प्रतिनिधित्व हुनु पर्ने बताईन् । उनले महिलालाई उपप्रमुख पद दिएर मात्रै नहुने भन्दै ‘सुखि नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकांक्षा पुरा गर्न महिलालाई प्रमुख पदहरुमा पनि विजयी बनाउनु पर्ने बताईन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटि सदस्य एवं ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटाले अभियानको सफलताको शुभकामना व्यक्त गरे । स्वागत मन्तव्य राख्दै हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका कुमारी पौडेलले महिला मुक्तिका लागि अखिल नेपाल महिला संघको सक्रियता अपरिहार्य रहेको बताईन् ।
कार्यक्रममा ईश्वरपुर नगरपालिकाकी उपमेयर एकवाती चौधरी, हरिवन नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, महिला संघमा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.