राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका कार्यक्रमको समीक्षा बैठक सम्पन्न

हरिवन,१३फागुन। सर्लाहीको अत्रौलीमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका कार्यक्रमको अर्धवार्षिक समीक्षा बैठक सम्पन्न भएको छ ।
हरिवन नगरपालिका अन्तर्गत वडा नम्बर २ मा रहेको अत्रौली हेल्थ पोष्टमा भएको अर्धवार्षिक समीक्षा बैठकलाई नगर स्वास्थ्य शाखाका संयोजक शशीकान्त सिंह, सह–संयोजक रामबाबु चौधरी, नर्सिङ स्टाफ लक्ष्मी आचार्य, अत्रौली हेल्थ पोष्टका इन्चार्ज मोहन बहादुर घिसिङले सहजीकरण गर्नुभएको थियो ।
२० जना स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुको सहभागिता रहेको समीक्षा गोष्ठीमा बाल स्वास्थ्य, पोषण कार्यक्रम, परिवार स्वास्थ्य, रोग नियन्त्रण र दर्ता तथा रिपोर्टिङको बारेमा छलफल भएको थियो । गोष्ठीका अवसरमा त्यहाँ देखिएका रोगको प्रकारान्तर, प्रवद्र्धनात्मक र उपचारात्मक स्वास्थ्य सेवाको अभिलेख वडाको तथ्यांक अनुसार र जिल्ला स्वास्थ्य कार्यालयको ढाँचा अनुरुप मिलान गरिएको थियो ।
सो क्रममा अभिलेख राख्ने क्रममा देखिएका त्रुटीहरुलाई सच्याउँदै आगामी दिन चुस्त र दुरुस्त स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविकाहरुले प्रतिवद्धता जनाएका छन् ।
नगर स्वास्थ्य शाखाले त्यहाँ भएका कामहरुको तथ्यांक संकलन, नयाँ कार्यक्रमको बारेमा अध्यावधिक हुने र कोषवारे छलफल गर्ने उदेश्यले अर्धवार्षिक समीक्षा गोष्ठीको आयोजना गरेको नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले बताउनुभयो ।