१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अपाङ्गको परिवारलाई वडा कार्यालयले दियो पक्की घर – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

अपाङ्गको परिवारलाई वडा कार्यालयले दियो पक्की घर

सोम दियाली, सर्लाही
२७ फागुन ।। सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ५ की एक अत्यन्तै विपन्न अपाङ्ग परिवारलाई वडा कार्यालयले घर बनाई दिएको छ ।स्थानीय राधिका हेन्जनको परिवारलाई वडा कार्यालयले ४ लाख ५० हजारमा शौचालयसहितको २ कोठे पक्की घर निर्माण गरी प्रदान गरेको हो ।

झण्डै महिनादिन अघि बनाउन सुरु गरिएको घर शुक्रबार स्थानीय वडावासीको रोहवरमा वडा अध्यक्ष नागेन्द्र कुमार साहले हस्तान्तरण गर्नुभएको छ ।सम्पत्तिको नाउँमा ४ धुर जमिन बाहेक केही नभएको राधिकाको परिवारमा २ छोरी र एक छोरा छन् । श्रीमान फुर्वादोर्जे पाख्रिन विगत डेढ दशक यता अपाङ्ग हुुनुहुन्छ ।

दैनिक ज्याला मजदुरीबाट गुजारा गर्दै आएका हेन्जन परिवारमा फुर्वादोर्जे अपाङ्ग भएपछि परिवारको सम्पूर्ण भार राधिकाको थाप्लोमा छ । छोराछोरी वैदेशिक रोजगारीमा भएपनि कमाई खासै राम्रो छैन । अपाङ्ग श्रीमानको हेरचाह, स्याहार सुसार गर्नु परेको कारण राधिकालाई ज्याला मजदुरी गर्न पनि कठिन छ ।

राधिकाको न घर गतिलो थियो न त खेतीपाती गरी खाने जमिन नै । भएकै ४ धुर जमिन बेचेर पनि कहाँ जानु थियो र । त्यही ४ धुर जमिनमा बनेको फुसको छानो भएको घर हुरी आउँदा उडाउँथ्यो त पानी पर्दा चुहिन्थ्यो । कतिरात भिजेरै रात विताउनु परेको राधिकाले बताउनु भयो ।

राधिकाको परिवारको यस्तो हरिविजोग र नाजुक अवस्था देखेपछि वडा अध्यक्ष नागेन्द्र कुमार साहले वडा कार्यालयले नै घर बनाई दिने निर्णय गर्नुभयो । त्यसो त नेपालको संविधानले नै नागरीकलाई गाँस, वास र कपासको ग्यारेण्टी गर्ने भनेको छ । सोही अनुरुप घर नभएकाहरुका लागि भनेर सरकारले जनता आवास कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । कारणवस सो कार्यक्रम हरिवन ५ मा नपरेपछि राधिकाको परिवारको विचल्ली देख्न नसकेर वडा कार्यालयले घर नै बनाएर हस्तान्तरण गरेको वडा अध्यक्ष साहले बताउनुभयो ।

‘जसको केही छैन उसको लागि सरकार हुन्छ । सरकारले उनीहरुको गाँस, वास कपासको व्यवस्था गर्नु पर्छ । हामी विपन्न परिवारलाई घर हस्तान्तरण गर्ने अभियानको सुरुवाती चरणमा छौं । यसलाई अभियानकै रुपमा अघि बढाउँछौं ।’ वडा अध्यक्ष साहले भन्नुभयो,‘राधिकाको अवस्था देख्दा हामीले टुलुटुलु हेरर बस्न सकेनौं ।

त्यसैले हामीले उहाँलाई घर निर्माण गरी हस्तान्तरण गरेका छौं ।’
गतिलो घर नभएर कष्टकर जीवन बिताउँदै आउनुभएकी राधिकाले वडा कार्यालय घर दिएपछि खुशि व्यक्त गर्नुभयो । ‘हाम्रो लागि वडा अध्यक्ष र वडा कार्यालय नै भगवान सावित भए, हाम्रो कोही छैन भन्ने सोचेका थियौं । स्थानीय सरकार पनि रहेछ भन्ने महसुस भयो ।’ राधिकाले भन्नुभयो,‘अब ओत लाग्ने ठाउँ पायौं । धेरै खुशि लागेको छ ।’

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.