१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
कैदीले जोडे कारागारबाटै करोडौं अकुत सम्पत्ति, छानविन गर्न अख्तियारमा उजुरी – Nigrani Today
ताजा खबरसमाचारसमाज

कैदीले जोडे कारागारबाटै करोडौं अकुत सम्पत्ति, छानविन गर्न अख्तियारमा उजुरी

काठमाण्डौ ।। लागूऔषध कारोबार मुद्धामा नख्खु जेलमा रहेका कैदी सन्तोष गुरुङ्गले कारागार भित्रैबाट करोडौं अकुत सम्पत्ति आर्जन गरेको भन्दै त्यसको छानविन गर्न अख्तियार दुरुपयोग अनुन्धान आयोगमा उजुरी परेको छ ।
नख्खु कारागार अन्र्तगत नयाँ ब्लकमा आन्तरीक प्रशासनतर्फको नाईके समेत रहेका गुरुङ्गले चार वर्षदेखि सोही कारागारमा प्रशासन चलाउँदै आएका छन् । उनले कारागार प्रशासनलाई नै घुस खुवाई प्रलोभनमा पारी प्रत्येक वर्ष नाईके हुने र कारागार भित्र जुवातास खेलाउने गरेका छन् । उनले कारागारका नाईकेहरुसँग रकम असुल्ने गरेका छन् । त्यस्तै उनले नयाँ आएका कैदीहरुसँग समेत उनीहरुको हैसियत हेरी विभिन्न प्रलोभनमा पारी १० हजार देखि लाख सम्म रकम लिने गरेको उजुरीमा उल्लेख छ ।
उजुरीकर्ताले सुरक्षाका कारण आफ्नो नाम गोप्य राख्दै दायर गरेको उजुरीमा कैदी नाईके सन्तोष गुरुङ्गले कारागारभित्र बाटै हैसियतभन्दा बढी अकुत रकम कमाएकोले उनीमाथि आवश्यक छानविन गरी कार्वाही गर्न माग गरेका छन् ।
उजुरीमा भनिएको छ, ‘निजको पुर्खौली घर नुवाकोट हो, उनको वुवाको निधन भई सकेको अवस्था छ । पुर्खौली सम्पति १ रोपनी जग्गा मात्रै भएको व्यक्ति हुन् उनी । उनको हाल दुई ओटी श्रीमती छन् । उनले गत वैशाखमा कान्छी श्रीमती उर्मिला गुरुङ्गको नाममा टोखामा २ करोड ३५ लाखमा १० आना जग्गा जोडेका छन् । त्यस्तै जेठी श्रीमती विनीता थापाको नाममा २०७७ साल असोजमा सामाखुशि चोकमा ६ आना जग्गामा बनेको घर किनेका छन् ।’, उजुरीमा भनिएको छ ।
त्यस्तै गुरुङ्गले श्रीमतीको नाममा काठमाण्डौंका एभेरेष्ट बैंक, ग्लोबल आईएमई बैक लगायतका बैंकमा रकम जम्मा गरेका छन् । त्यस्तै गुरुङ्गले जेलबाटै पैसा पठाई सानीमा हाईड्रो पावर, कृषि विकास बैंक र एसओएस कम्पनीमा लगानी समेत गरेका छन् । गुरुङ्गलाई यी सबै काममा १० वर्षदेखि कारागारमा तरकारी सप्लाई गर्दै आएका अमीरराज थापाले सघाउने गरेको पनि उजुरीमा खुलाईएको छ ।
थापा र गुरुङ्गले हालसालै श्रीमतीहरुको संयुक्त नाममा भंगाल बुढानिलकण्ड नपा ४ मा कित्ता नम्बर ३०१ रहेको ६ आना २ दाम जग्गा किनेका छन् ।
त्यस्तै उनी पटक–पटक फर्जी विरामी पूजी बनाई उपचारको बाहानामा घर जाने गरेका छन् । उनलाई कारागार प्रशासनकै कर्मचारीहरुको मिलोमतोमा त्यसरी फर्जी विरामी पुर्जी बनाई बाहिर जान दिने गरेको नाम नबताउने शर्तमा एक कैदीले बताए । उनी भन्छन्, ‘यहाँ सामान्य कैदीहरुले भने एक पटक पनि उपचार पाउँदैनन्, तर सन्तोषलाई कर्मचारीकै मिलोमतोमा उपचारको बहानामा बाहिर जान दिईन्छ ।’

यस्तो छ सन्तोषको जेलभित्रको धन्दा
–जेल भित्रको पसलमा हरेक सामानमा बजार मूल्यभन्दा ४ गुणा महंगो लिने गरेको, –टेलिफोन शुल्क प्रतिमिनेट ५ रुपैयाँ लिने गरेको, जेलभित्रै जुवा तास खेलाउने गरेको,
–नयाँ आउने कैदीसँग सुविधा दिन्छु भन्दै हैसियत हेरी १० हजारदेखि लाखसम्म असुल्ने गरेको,
–नाईके नियुक्त गर्दा प्रत्येक नाईकेसँग ५ लाख लिने गरेको(एउटा ब्लकमा ६ जनाका दरले ३ ओटा ब्लकका १८ जना नाईकेसँग गरी बार्षिक ९० लाख रुपैयाँ आम्दानी),
–यसै आर्थिक वर्षमा एक जना ब्लकको चौकीदार नियुक्त गर्दा १० लाखको दरले लिएको,
–डिआरसी ब्लकको चौकीदारसँग मासिक ५ लाख ५७ हजार लिने गरेको,
–सिआरडी ब्लकको चौकीदार अशोक खड्गीसँग मासिक ५ लाख ३० हजार दालमानीको रकमबाट लिने गरेको ।
सन्तोषले यी सब धन्दा चलाउनका लागि कारागारका कर्मचारीलाई घुस दिने गरेको उजुरीमा उल्लेख छ । उजुरी पत्रमा लेखिएअनुसार सन्तोषले जेलरलाई मासिक २ लाख, सहायक जेलरलाई ६० हजार, कारागार व्यवस्थापन विभागको बन्दी प्रशासनका अधिकृतलाई मासिक २० हजार रुपैया दिने गरेका छन् । उनले काँग्रेस नेता अर्जुन नरसिंह केसी र जगदिश नरसिंह केसीको नामले कैदी र कारागार प्रशासनसँग बार्गेनिङ्ग गर्ने गरेको समेत उजुरीमा उल्लेख छ ।
उजुुरीकर्ताले कैदी सन्तोषले २०७८ कार्तिक ४ गते नख्खु कारागारमा कार्यरत महिला कर्मचारीको संवेदनशील अंगमा छोएको घट्नासमेत घुस खुवाएर सामसुम पारिएको, दुई वर्षअघि लागूऔषधको कैदी नाईके पासाङ्ग शेर्पा नामका सन्तोषकै म्यादीले मोवाईल र लागूऔषध जेलभित्र छिराएर ठुलै काण्ड मच्चाएको घटनापनि सामसुम पारिएको प्रसंग समेत उल्लेख गरेका छन् । त्यस्तै २०७९ असार २२ गते कारागार गेटमा भेटिएको लागूऔषध काण्डमा पनि सन्तोषकै संलग्नता रहेको उजुरीमा दाबी गरिएको छ ।
सन्तोष विरुद्धको उजुरी अख्तियार दुरुपयोग अनसन्धान आयोगको कार्यालय टंगालमा असार २४ गते दर्ता भएको छ । सन्तोष विरुद्ध उजुरी दर्ता भएको नभएको आफूले जानकारी नपाएको आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले बताए । ‘उजुरी आएको होला, विदाका कारण जानकारी दिन पाएको छैन । उजुरी आएको भए आवश्यक अनुसन्धान हुने बताए ।
त्यस्तै नख्खु कारारका सूचना अधिकारी मुरारी कार्कीले कारागारभित्र त्यस्तो धन्धा नहोला भन्न नसकिने बताए । उनले भने, ‘हामीले निगरानी गरिरहेका छौं । विभिन्न निकायहरु पनि बेलाबेलामा आएर हेर्ने गरेका छन् । हामीले हेर्दा त्यस्तो केही देखिँदैन । अब उजुरी आएको हो भने हामीले फेरी छानविन गर्छौं ।’
कारागार विभागका प्रमुख बासु घिमिरेले उजुरीहरु पटक पटक विभिन्न ठाउँबाट आईरहने गरेको बताए । उनले आएका उजुरीहरुमा छानविन गर्ने, बुझ्ने काम गरेको र दोषी पाइए कार्वाही पनि गर्ने गरिएको बताए । यो विषयमा पनि उजुरी परेको हो भने विभागले आवश्यक जाँच बुझ गर्ने काम गर्ने प्रमुख घिमिरेले बताए ।
उजुरीमा उल्लेख भएका कुराहरुलाई लिएर कारागारका जेलरहरुसँग बुझ्न खोज्दा भने फोन उठेन । कारागारमा रहेका कैदीहरुका अनुसार कारागार प्रशासनले मिलोमतोमै कारागारभित्र हुने घट्नाहरु सामसुम पार्ने गरेको बताए । कारागार प्रशासनले कारागार भित्रका घटनामा तल्लो तहका कर्मचारीलाई बुझ्ने र मिलाउने जिम्मा दिने गरेकोले समस्या कहिल्यै नसुल्झीने गरेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.