१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही सहित मधेश क्षेत्रमा चौरचन पर्व मनाइँदै – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाही सहित मधेश क्षेत्रमा चौरचन पर्व मनाइँदै

सर्लाही,१४ भदौ । सर्लाही सहित आज मधेश क्षेत्रमा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन पर्व मनाइँदैछ । भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मधेशमा मधेशी र थारु समुदायले बिशेष महत्वका साथ उक्त पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भएपनि हरितालिका तीज र चौठचन पर्व आज एकै दिन परेको छ । सो पर्वका दिन पूजामा सहभागी हुने परिवारका एक जना महिला सदस्य दिनभरी उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ ।

यस पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्विप प्रज्ज्वलन गर्दै उपवास बसेको ब्रतालुले फलफूल र मिष्टानको परिकारलाई प्रसादको रुपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा छ ।चन्द्रमाको पूजा हुने सो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादको रुपमा राखेर चन्द्रमालाई प्रजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरु प्रसाद ग्रहण गर्ने परम्परा रहेको अभियानी झाको भनाइ छ । तीज पर्व सम्पन्न भएसँगै शुरु हुने यस पर्वलाई मधेशमा निकै आस्थाका रुपमा लिइन्छ ।

कृष्णजन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने यस पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा पिरुकिया र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घारीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा रहेको छ । यस पर्वमा प्रयोग हुने माटोको भाँडा, फलफूल, पिठोबाट बनेको परिकार, दहीलगायतका सम्पूर्ण सामग्री आफ्नै घर आँगनबाट हुने गरेको छ ।

यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलंक लाग्ने हुनाले पूजा गरी अर्थात खाद्यान्न, फलफूल, दही आदिको अर्घय दिएर चन्द्रमाको त्यो अपयशबाट बच्न सकिने धार्मिक मान्यता रहेको छ । भगवान श्रीकृष्णलाई आजकै दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङक छुटेकोले यस पर्वको पौराणिक महत्व स्थापित भएको छ । द्वापरयुगमा द्वारिकापुरीमा सत्रजित नामका व्यक्तिले भगवान सूर्यको आराधना गरी निकै उत्कृष्ट स्यमन्तक मणि प्राप्त गरेको कथा श्रीमद्भागवात पुराणमा उल्लेख छ । ‘‘विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट प्रतिदिन २० मन सुन प्राप्त गर्ने गरेको ती व्यक्ति छोटो समयमै धनाढ्य भएको थियो , थोरै समयमा ती व्यक्ति धनाढ्य भएको खबर चारैतिर फैलिएको थियो । एक दिन सत्रजित मणि गलामा धारण गरी ती व्यक्ति राजाको दरबारमा पुगेको र सो मणिको प्रभावका कारण राजाको दरबार चमक भएको कुरा श्रीमद्भागवत महापुराणमा उल्लेख रहेको छ ।

यसक्रममा श्रीकृष्णले सो मणि राजालाई हस्तान्तरण गर्न आग्रह गरेपछि बहाना बनाइ घर फर्किएका ती व्यक्तिले राजाको डरले भाइ प्रसेनजितलाई मणि जिम्मा लगाइ सुरक्षा साथ जङ्गल पठाएको थियो । केही समयपछि उहाँका भाइ प्रसेनजितको कालगतिले प्रसेनजितको मृत्यु भएपछि उक्त मणि एउटा सिंहबाट जाम्बवान नाउँको बलशाली भालुले हात पारेको कुरा श्रीमद्भागवात महापुराणमा उल्लेख छ । प्रसेनजितको मृत्यु भएको र मणि हराएको खबर राजाले पाएपछि भगवान श्रीकृष्णमाथि शङ्का लागेको थियो । आफूमाथि लागेको कलङ्क मेटाउन मणि खोज्दै जङ्गल गएका भगवान श्रीकृष्णले खोजी गर्दै भदौ शुक्ल चतुर्थीका दिन मणि लिएर उहाँ फर्किएको थियो । श्रीकृष्णको कलङ्क मुक्ति भएको दिनलाई स्मरण गर्दै चौरचन पर्व मनाउँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.