१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
मेयर बुढाथोकीको पहलमा श्रीमानबाट प्रताडित सिताले पाइन् न्याय – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मेयर बुढाथोकीको पहलमा श्रीमानबाट प्रताडित सिताले पाइन् न्याय

सर्लाही,२४ पुष । श्याम परदेशी जस्ता सुदखोर मिटरव्याजीलाई कानूनी कठघरामा ल्याउन कुनै समय महत्वपूर्ण भूमिका खेल्नुभएका हालका हरिवन नगरपालिकाका मेयर रमेश कुमार बुढाथोकी(कमल) नेतृत्वको टिमले फेरी अर्को सराहनिय कार्य गरेको छ । मेयर बुढाथोकी नेतृत्वको टिमले दाइजोका कारण आफ्नै श्रीमानबाट प्रताडित ईश्वरपुर नगरपालिका १५ सोकनाहकी २६ वर्षिया सिता यादवलाई न्याय दिलाएर प्रसंशनिय कार्य गरेको हो । दाइजो र अन्य थुप्रै सामाजिक कु–प्रथाले व्याप्त तराई मधेशमा महिलाले सजिलै न्याय पाउनु भनेको कल्पनाभन्दा परको कुरा हो । झन् विपन्न र निम्न स्तरका महिलाले सजिलै न्याय पाउने त कुरै भएन ।

यहाँ दाइजो होस् या अन्य मुद्धामा थोरै महिलाले मात्रै न्याय पाउने गरेका छन् । ती मध्ये सिता यादव पनि एक हुन् । जसले हरिवनका मेयर रमेश कुमार बुढाथोकी(कमल), महिला नेतृहरु पदमा मोक्तान, सरस्वती मिश्र वाग्ले, जमुना पराजुलीलगायतको सहयोगमा पतिबाट अंश लिन सफल हुनुभयो । आफूले न्याय पाएकोमा खुशि व्यक्त गर्दै पीडित सिताले न्याय दिलाउन सहयोग गर्ने मेयर बुढाथोकीसहित महिला नेतृहरुलाई धन्यवाद दिईन् ।

पतिबाट प्रताडित भएर न्यायको लागि भौतारिरहेकी सीताले मेयर बुढाथोकी र महिला दिदीहरुको साथ नपाएको भए आफूले न्याय पाउने सम्भवना नै नरहेको बताउनुभयो ।२०७० सालमा सामाजिक रितिरीवाज अनुसारै सोही ठाउँका मनोज यादवसँग विवाह बन्धनमा बाँधिनुभएकी सीता यादव पर्याप्त दाइजो नल्याएको भन्दै श्रीमान र घर परिवारबाट प्रताडित हुनुहुन्थ्यो । उहाँलाई श्रीमान र घरपरिवारले दिनहूँ कुटपिट गर्नेदेखि सडकमा ल्याएर नाङ्गो बनाई आगो लगाउने सम्मको प्रयास गरेको सिता सम्झनुहुन्छ ।

श्रीमान र घर परिवारको अन्याय सहन नसकी यादव माइतीमा बस्न थाल्नुभयो र श्रीमानसँग अंशको लागि कानूनी लडाई लड्न थाल्नुभयो । तर कतैबाट साथ सहयोग नपाएपछि बुवा रामवृद्ध यादवलाई लिएर हरिवन कमल बुढाथोकीको घरमा आउनुभयो र न्यायका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो । सीता यादव(२६) ईश्वरपुर नगरपालिका १५, सोकनाहका रामवृक्ष यादवकी छोरी हुनुहुन्छ । उहाँको सोही वडाका मनोज यादवसँग २०७० साल जेठ महिनामा मागी विवाह भयो । उहाको विवाहमा एउटा प्लाटिना मोटरसाईकल, दराज, पलङ, सोफा लगायतका सामान दाइजोको रुपमा दिएको बुवा रामवृद्ध यादवले बताउनुभयो ।

आफ्नो गक्ष अनुसार नै दाइजो दिएको भएपनि थप दाइजो मागेको र आफूले दिन नसकेपछि छोरीमाथि अत्याचार गर्न थालेको पीडितका बुवा रामवृक्षले बताउनुभयो । ज्वाईले छोरीमाथि गरेको अत्याचार उहाँले सम्झनै चाहनुभएन । कहाँ सम्म अत्याचार गरिएको थियो भने दाइजो नल्याएको झोकमा सुत्केरी छोरीलाई कुट्दै बाटोमा ल्याएर आगो लगाउने सम्मका हर्कत गरे । न्यायका लागि जतिसुकै गरेपनि नसकेपछि अन्ततः उहाँ छोरीलाई लिएर हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी भएको ठाउँमा आउनुभयो । जति बेला मेयर बुढाथोकी मिटरव्याजी विरुद्ध अभियानमा हुनुहुन्थ्यो ।

न्यायको लागि रामवृक्ष छोरी सितालाई लिएर २०७५ साल तिर आफू भएको ठाउँमा आएको मेयर बुढाथोकीले बताउनुभयो । ‘कहींबाट केही सिप नलागेपछि रामवृद्ध छोरीलाई लिएर मकहाँ आउनुभयो । जतिवेला म मिटरव्याजीहरुको भण्डाफोर अभियानमा थिए । श्याम परदेशी जस्ता सुदखोर मिटरव्याजीलाई कानूनी कठघरामा ल्याउने र गरीब जनतालाई न्याय दिलाउने अभियानमा थिएँ ।’, मेयर बुढाथोकीले भन्नुभयो, हामीले उहाँलाई सकेको सहयोग ग¥यौं र आज उहाँकी छोरीले न्याय पाउँदा हामीलाई पनि खुशि लागेको छ ।’मेयर बुढाथोकीले तराई मधेशमा एउटी महिलाको विरुद्ध सिङ्गो समाज नै लाग्ने गरेको तितो अनुभव सुनाउनुभयो । ‘यहाँ एउटी महिलाले न्याय पाउन निकै गाह्रो छ ।

सिङ्गो गाउँ समाज नै पुरुषतिर लाग्छन् । धन्न हामीले पहल गर्दा हुन्छ कि भनेर लाग्दा सीताले न्याय पाईन् । आज सितामात्रै हैन उनको बुवा खुशि हुनुहुन्छ । हिजो त्यही न्याय माग्दा कुटाई खाईन्छ भनेर डराउनेहरु पनि आज तपाईले ठीक गर्नुभएको रहेछ अब हामीलाई पनि न्याय दिन नेतृत्व गरिदिनु प¥यो भनेर आउने गरेका छन् ।’सीतालाई न्याय दिलाउन आफूहरुले धेरै कष्ट भोग्नु परेको महिला नेतृ पदमा लामाले बताउनुभयो । उहाँले भन्नुभयो,‘सीताले सजिलै न्याय पाउने अवस्था नै थिएन ।

न्यायको लागि हामी जाँदा पुरै गाउँले नै हामीमाथि आईलागेका थिए । सीताको न विहे दर्ता थियो न त नागरीकता । केही प्रमाण नै नभएपछि उनलाई मुद्धा जित्न सजिलो भएन । तर पनि हामीले निरन्तर प्रयास गरि नै रह्यौं फलस्वरुप सिताले न्याय पाईन् ।’उहाँले तराई मधेशमा विवाह दर्ता, नागरीकता जस्ता कागजात नभएकै कारण एउटी पीडित महिलाले पतिसंग अंश दाबी गर्न नसकिरहेको बताउनुभयो । ‘बुहारीलाई विवाह दर्ता गरी नागरीकता दियो भने सबै सम्पत्ति खाईदिन्छ भन्ने मानसिकता तराई मधेशमा भएको कारण आज लाखौं बुहारीहरु नागरीकताबाट बञ्चित भएका छन् । त्यसैले छोरीलाई विहे अघि नै नागरीकता बनाईदिन म सबै अभिभावकलाई आग्रह गर्दछु ।’

सीतालाई न्याय दिलाउन दिलो ज्यानले लागि पर्नुभएकी अर्की महिला नेतृ सरस्वती मिश्र वाग्लेको भनाई पनि त्यस्तै छ । उहाँले तराईमा छोरी र बुहारीलाई हेर्ने नजर र गर्ने व्यवहार नबदलिँदा सम्म जति नै कानून बनाएपनि यहाँका महिलाले कानूनी राजको प्रत्याभूति गर्न नपाउने बताउनुभयो । मिटरव्याजी अभियानकी मधेश प्रदेश संयोजक समेत रहनुभएकी वाग्लेले सीता यादवको घटनाबाट तराई मधेशका अरु महिलाले पनि पाठ सिक्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कानूनी रुपमा बलियो हुनका लागि महिलाले सुरुमा विवाह दर्ता र नागरीकतालाई जोड दिनु पर्छ । नत्र त कुनै कारणले पतिसँग अंश दाबी गर्नुपर्दा सीताले जस्तै समस्या भोग्नु पर्छ ।

’त्यस्तै जिल्ला समन्वय समिति सर्लाहीकी पूर्व उपसभापति समते रहनुभएकी महिला नेतृ जमुना पराजुलीले पनि ढिलै भएपनि सितादेवीले न्याय पाएकोमा खुशि लागेको बताउनुभयो । उहाँले तराई मधेशमा छोरी बुहारीले दुःख पाउनुको प्रमुख कारण नै अशिक्षा भएको उल्लेख गर्दै भन्नुभयो, ‘छोरीलाई पढाउनु भन्दा विवाह गर्नु नै राम्रो हुन्छ भन्ने अभिभावकको सोच र चेतनाकै कारण धेरै छोरी र बुहारीले दुःख पाएका छन् । त्यसैले छोरीलाई विवाह गर्न हैन शिक्षा दिक्षा दिएर सक्षम बनाउन सोचौं ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.