रामनवमीको अवसरमा मलंगवामा भव्य शोभा यात्रा निकालियो

सर्लाही,२४ चैत्र । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मोत्सव रामनवमीको अवसरमा आज सर्लाही सदरमुकाम मलंगवामा भव्य शोभा यात्रा निकालिएको छ ।
नगरपालिका चौकमा रहेको ऐतिहासिक राम मन्दिर बाट सुरु गरिएको शोभा यात्राले नगर परिक्रमा गरेको थियो ।
समाजसेवी संजय यादवको अध्यक्षतामा सुरु गरिएको डोला शोभा यात्रामा पुर्व मन्त्री राजेन्द्र महतो, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र सिंह, जसपाका जिल्ला सचिव सोहन झा, वडा नं. ९ का वडा अध्यक्ष चन्देश्वर राय, वडा नं. ८ का वडा अध्यक्ष मुकेश जयसवाल, वडा नं. ३ का वडा अध्यक्ष प्रमोद राय, वडा नं. १० का वडा अध्यक्ष मुकेश झा, मन्दिरका पुजारीहरू, धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
यात्रामा भजन–कीर्तन, धार्मिक झाँकी तथा श्रद्धालुहरूको उत्साहपूर्वक सहभागिताले वातावरण भक्तिमय बनाएको थियो ।
रामनवमी, जसलाई राम जयन्ती पनि भनिन्छ, भगवान् रामको जन्म दिवसका रूपमा मनाइन्छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका सुपुत्रका रूपमा चैत्र शुक्ल नवमीका दिन रामचन्द्रको जन्म भएको धार्मिक विश्वास रहिआएको छ । रामलाई भगवान् विष्णुको सातौँ अवतारका रूपमा पुजिन्छ ।
धार्मिक शास्त्रअनुसार भगवान् रामले आफ्नो जीवनमा आदर्श, नैतिकता र मर्यादालाई सर्वोच्च स्थान दिएको बताइन्छ, जसका कारण उनलाई मर्यादा पुरुषोत्तम उपाधि दिइएको हो । ‘रामराज्य’ आज पनि सुशासन र न्यायको प्रतीकका रूपमा स्मरण गरिन्छ ।