सर्लाहीका १४ स्थानीय तहले पाठ्यपुस्तकको पहिलो किस्ता निकासा गर्न सकेनन्, शिक्षा सत्र शुरु हुन एक हप्ता मात्र बाँकी

सर्लाही,२५ चैत्र । सर्लाही जिल्लाका १४ स्थानीय तहले शैक्षिक सत्रको प्रारम्भ हुन एक हप्तामा पनि पाठ्यपुस्तकको पहिलो किस्ता विद्यालयका खातामा निकासा गर्न सकेका छैनन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरद्वारा प्रकाशित कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१÷८२ अनुसार सार्वजनिक विद्यालयका कक्षा १–१० का विद्यार्थीहरूको लागि निःशुल्क पाठ्यपुस्तक अनुदानको व्यवस्था गरिएको छ। यस अनुसार विद्यालयको खातामा अनुदान तीन महिना अगावै स्थानान्तरण गर्नुपर्ने व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख मोति प्रसाद भट्टराइले जानकारी दिनुभयो ।
शैक्षिक सत्र २०८२ को प्रारम्भसँगै पाठ्यपुस्तकको वितरण समस्या देखिएको छ। बलरा नगरपालिका, कविलासी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिपूर्वा नगरपालिका, लालबन्दी नगरपालिका र चक्रघट्टा गाउँपालिकाले मात्रै पहिलो किस्ताको पाठ्यपुस्तक रकम निकासा गरेका छन्। अन्य १४ स्थानीय तहले निकासा गर्न सकेका छैनन्।
यसले शैक्षिक सत्रको प्रारम्भ र विद्यार्थी भर्ना अभियानमा समस्या ल्याउने शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जनाएको छ। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको अनुपस्थितिका कारण पाठ्यपुस्तक वितरणमा ढिलाइ भएको र निकासा गर्न नपाइएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक, सुनिल कुमार कुशवाहाले बताउनुभयो ।
इकाइ प्रमुख, भट्टराई, र प्राविधिक सहायक, कुशवाहाले यस विषयमा सम्बन्धित सबै स्थानीय तहलाई शीघ्र निकासा प्रक्रिया पूरा गर्न अनुरोध गरेका छन्।