२२ भाद्र २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नयाँदिल्लीबाट प्रभु साहको गर्जन,‘भ्रष्टाचार गरेर सम्पत्ति विदेश पुर्याउनेहरुलाई अब टुँडिखेलमा झुण्ड्याउनुपर्छ’ – Nigrani Today
Uncategorized

नयाँदिल्लीबाट प्रभु साहको गर्जन,‘भ्रष्टाचार गरेर सम्पत्ति विदेश पुर्याउनेहरुलाई अब टुँडिखेलमा झुण्ड्याउनुपर्छ’

नयाँदिल्ली, २२ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुक र जनताको रगत, पसिना चुसेर देश लुट्नेहरुलाई अब देशबाटै लखेट्ने बेला आएको उद्घोष गरेका छन् ।

‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ आम प्रवासी नेपाली एकता समाजले आज (आइतबार) भारतको राजधानी नयाँदिल्लीमा आयोजना गरेको भेला एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले राजनीतिको नाममा व्यापार गरेर दरबार ठडाएकाहरुलाई अब सात डाँडो कटाउने बेला आइसकेको र यसमा ढिलाई गर्न नहुने टिप्पणी गरे ।

‘देश र जनताको रगत, पसिना चुसेर देश लुट्नेहरुलाई अब देशबाटै लखेट्न जरूरी छ । युवा पुस्ताको हस्तक्षेप स्वागतयोग्य छ । बंगलादेशमा विद्यार्थीले सुरु गरेको अभियान आन्दोलनमा परिणत भएर शासन–सत्ता ढालेको ताजा इतिहास छ,’ आजपा अध्यक्ष साहले भने, ‘राजनीतिको नाममा व्यापार गरेर दरबार ठडाएकाहरुलाई अब सात डाँडो कटाउने बेला आयो । ढिला गरे देश खोक्रो बनेको हेर्नुबाहेक अर्को विकल्प हुँदैन ।’

भ्रष्टाचार गरेर सम्पत्ति विदेश पुर्याउनेहरुलाई अब टुँडिखेलमा झुण्ड्याउन ढिलाई गरे मुलुक नबन्ने बताउदै उनले युवाहरुले अब खोजीखोजी भ्रष्ट, दलालहरुलाई कारवाही गर्नुपर्ने आवश्यकत्ता भइसकेको बताए ।

‘देश लुटेर सन्तान र सम्पत्ति विदेश पुर्याउनेहरुलाई सडकमा नांगेझार पार्नुपर्छ । युवाहरुले यसमा ढिलाई गर्नुहुदैन, युवा पुस्ताले प्रतिकारको आन्दोलन सुरु नगरे देश बर्वाद हुन्छ । नेपालमा भोलि सुरु हुन गइरहेको जेन–जी को प्रोटेस्टको स्वागत गर्दछु । आम नेपाली मान्छे चरम गरिबी र अभावमा बाँच्नुपरेको छ । नेताका छोराछोरी र नाति–नातिनीहरु विदेशका महँगा शहरमा विदेशी ब्राण्डेड वस्त्र पहिरिएर, ग्योजट बोकेर शयर गरिरहेका छन् । यो देशभक्त नेपालीहरुको लागि असह्य कुरा हो,’ आजपा अध्यक्ष साहले भने, ‘आजपनि हाम्रा बच्चाहरु तुईनको साहरामा विद्यालय जानुपरेको छ, तर चोर नेताका सन्तान विदेशी महँगा कलेज र विश्वविद्यालयमा पैसा तिरेर पढिरहेका छन् । भ्रष्टाचार गरेर सम्पत्ति विदेश पुर्याउनेहरुलाई अब टुँडीखेलमा झुण्ड्याउनुपर्छ । चप्पल पड्काएर काठमाडौं छिरेकाहरु आज विदेशी ब्राण्डका जुत्ता र महँगो प्राडो, अनि आलिसान महलमा सवार छन् । यी लुटेरा ग्याङलाई राजनीतिबाट विदाई नगरे देश बन्दैन ।’

नेपाली कांग्रेस, नेकपा एमालेको अप्रजातान्त्रिक, असंवैधानिक, अप्राकृतिक एवं अनैतिक गठबन्धनको सरकारले मुलुकमा लुट, भ्रष्टाचार र मनोमानी गर्दै मुलुकको आर्थिक अवस्था धराशयी बन्दै गइरहेको साहले बताए । सरकारले जनताको आवाज दबाउन अहिले नेपालमा सामाजिक सञ्जाल बन्द गरेर निरंकुशताको अभ्यास गरिरहेको समेत उनले बताए ।

एमाले पार्टी नभई अपराधी, भ्रष्ट र दलालहरुको एक साझा संगठन जस्तै भइसकेको टिप्पणी उनले गरे । ‘एमाले भन्ने पार्टी अपराधीहरुको पार्टीजस्तै भयो । भ्रष्ट, डन, गुण्डाहरुलाई संरक्षण गर्ने पार्टीलाई तस्करको पार्टी होइन भनेर कसरी भन्ने ? हिजो हेर्नुस त एमालेका मन्त्री सवार गाडीले दिनदाहाडै एउटा बालिकालाई ललितपुरमा ठक्कर दियो, तर प्रधानमन्त्री ओलीले केही भएको छैन, यसो छोएको भनेर अमानवीय र असंवेदनशील टिप्पणी गर्नुभयो । यो आपराधिक र मानवताविरोधी मानसिकता हो । सिसिटिभी फुटेज बाहिरिएको छ, कति निर्दयी प्रधानमन्त्री ? कस्तो निर्दयी एमाले मन्त्री ?’ आजपा अध्यक्ष साहले भने ।

पूर्वमन्त्री साहले केपी ओली, शेरबहादुर देउवा, प्रचण्डका कारण अहिले नेपालमा लोकतन्त्रको चीरहरण भएको टिप्पणीसमेत गरे । यी नेताहरुका कारण लोकतन्त्रको चीरहरण भई मुलुकमा भ्रष्टाचार, अनियमितता बढ्दै जाँदा चारैतिर निराशा छाएको टिप्पणी उनले गरे ।

‘अहिले देश दिशाहिन छ, जनतामा चरम निराशा छाएको छ । यो देश दुःखेको कुरा अनि जनताको दर्द यहाँ दिल्लीमा तपाईंहरुसामु सुनाउनुपर्दा म आँफै दुःखी छु । तर, यथार्थ यही हो कि आज देशको हालत ठीक छैन । जनता बेहाल छन्, लाचार छन्, निरीह छन् । चारैतिर निराशा छाएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘लोकतन्त्र लुटिएको छ, लज्जित भएर ओली, देउवा र दाहालजस्ता नेताहरुको पाउमा पसारिएको छ । लुटतन्त्र लादिएको छ । अहिले नेपालमा नेतातन्त्रको मन्त्रमात्र गुञ्जिएको छ । किनकी गणतन्त्र यीनकै कारणले गन्हाईसकेको छ । चोर नेताले देशमा लुटतन्त्रको स्वर्ग खडा गरेका छन् ।’

हिमालय र गंगाजस्तै नेपाल–भारतको सम्बन्ध पुरानो भएको बताउदै साहले दुई देशका बीचमा ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक सम्बन्धसंगै आर्थिक धागोले बाँधिएको बताए । दुई देशबीच सगरमाथाझै अग्लो सम्बन्ध रहेको उल्लेख गर्दै साहले भारतको आर्थिक प्रगतिबाट नेपालले पनि लाभ लिन सक्नुपर्ने आवश्यकत्ता औंल्याए ।

भारतमा नेपाली भनेपछि बहादुरमात्रै नभई इमानदार नागरिकको छवि बनेको पनि उनले स्मरण गराए । भारतको समृद्धिदेखी सिमाको रक्षा गर्ने नेपालीको योगदानको चर्चा गर्दै साहले आगामी दिनमा सम्बन्ध अझै प्रगाढ हुने विश्वास दिलाए ।

‘नेपाल–भारत सम्बन्ध हिमालय पर्वतजस्तै अटल भएर उभिईरहेको हेर्ने मेरो चाहना छ । नयाँ दिल्लीसँग हाम्रो दिलबाटै दोस्ती छ । यो शहरसँग हरेक नेपालीहरुको आफ्नोपनको नाता छ । यहाँ बेग्लै आत्मियताको अनुभूति हुन्छ । त्यो आजपनि मलाई छुट्टै अनुभूति छ । तपाईंहरुले दिल्लीमा सिंगो नेपाल बोकेर ल्याउनुभएको छ,’ उनले भने,‘मःमका पारखीदेखि दालभात तरकारी नेपाली स्वाद रुचाउनेसम्मले दिल्लीमा आतिथ्यता पाउने गरेका छन् । यो तपाईंहरुले सम्भव बनाउनुभयो । तपाईंहरुमात्रै यहाँ आउनुभएको छैन, आफूसँगै देशको भेषभुषा, भाषा, संस्कृति अनि धर्म बोकेर आउनुभएको छ । सेफदेखि सफ्टवेयर इन्जिनियरसम्म, बहादुर नेपालीदेखि बडेमानको व्यापारीसम्मको पहिचान तपाईंहरुले बनाउनुभएको छ । यो देखेर मलाई खुशीको अनुभूति हुन्छ । तपाईंहरुको व्यक्तिगत र व्यवसायिक सफलताको शुभकामना छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button