जेन–जी आन्दोलनका घाइते उदय प्रकाश गृह जिल्ला आउँदै, सर्लाहीका युवाहरुले गर्नेछन् भव्य स्वागत

सर्लाही । जेन–जी आन्दोलनका क्रममा गम्भीर रूपमा घाइते भएका सर्लाहीका युवा उदय प्रकाश साह भोली (शनिवार) आफ्नै गृह जिल्ला सर्लाही फर्कँदै छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बबरगंज निवासी उदय प्रकाशलाई स्वागत गर्न जिल्लाभरिका युवाहरु उत्साहित बनेका छन् ।
गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर उदय प्रकाश गम्भीर घाइते भएका थिए । आन्दोलनमा सक्रिय सहभागी रहेका उदय प्रकाशलाई तत्कालै उपचारका लागि काठमाडौंस्थित ट्रामा सेन्टर र पछि बिर अस्पतालमा भर्ना गरिएको थियो । लामो उपचारपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ र अब उनी गृह जिल्ला फर्किन लागेका हुन् ।
जेन–जी सर्लाहीका युवाहरुले संयुक्त रूपमा उनलाई स्वागतका लागि तयारी थालेका छन् । उदयलाई फूलमालासहित शनिवार युवा समूह ईश्वरपुर स्थित फुलजोरमै दिउसो १२ बजे स्वागत गर्ने भएको छ् । “उदय भाइ हाम्रो गौरव हुन्, उनी जनताको आवाजको प्रतीक हुन्,” जेन–जी सर्लाहीका युवाहरुको भनाइ छ, “हामी उहाँको योगदानको कदर गर्दै भव्य स्वागत गर्नेछौं।”
उदय प्रकाशले आफ्नो आन्दोलनप्रति निरन्तर साथ र समर्थनका लागि सबैप्रति आभार प्रकट गरेका छन् । “यो मेरो व्यक्तिगत जित होइन, यो युवाहरुको आवाजको जित हो,” उनले भने्, “अब सर्लाहीबाट फेरि नयाँ ऊर्जासहित जन–आन्दोलनको भावना विस्तार गर्नेछौं।” सर्लाहीमा पनि भ्रष्टाचार विरुद्ध शशक्त आवाज बनाउने उनको भनाइ छ । सपना हाम्रो, देश हाम्रो हामी युवाको सोच र विचारले परिवर्तन मात्र हुने उदय प्रकाशले भने । आवाज पनि बदलाव पनि हामी युवाले क्रान्ति मार्फत ल्याउने छौ र समग्र जिल्ला सुधारको अभियान चलाउने उदय प्रकाशले बताए ।
यो आगमन जेन–जी आन्दोलनका लागि नयाँ ऊर्जा र उत्साहको प्रतीकका रूपमा हेरिएको छ ।