
सर्लाहीका युवाहरुले छठ पर्वमा नेपालभरी नै तीन दिन बिदा हुनुपर्ने माग गरेका छन । नेपालभरी मनाइने छठ आस्था, संस्कृति र पहिचानसँग गहिरो सम्बन्ध राख्ने पवित्र पर्व हो। तर हरेक वर्षझैं यस वर्ष पनि सरकारले केवल एक दिनको बिदा दिने निर्णय गरेको छ, जसले मधेसी समुदाय, विद्यार्थी, शिक्षक र कर्मचारीहरूबीच गहिरो असन्तोष र आक्रोश उत्पन्न गरेको चन्द्रनगर वडा नं. ३ का युवा सुवोध महतोले बताउनुभयो । “छठ पूजाको केवल एक दिने बिदा पाउँदा निकै कठिन हुन्छ। बिहानै पूजा गर्न घाट पुग्नुपर्छ र त्यसपछि ड्युटीमा जानुपर्ने बाध्यता हुने गरेको महतोले बताउनुभयो ।
मधेशका कर्मचारीहरुले “छठ हाम्रो आस्था र आत्मसम्मान हो। एक दिने बिदाले हाम्रो धार्मिक अभ्यास सम्भव हुँदैन भन्नुभएको छ“ ।त्यस्तै, विद्यार्थी सुमन महतो भन्छन् “हामीमध्ये धेरै विद्यार्थीहरू पहाडतिर अध्ययनरत छौं। छठको दिनमा परीक्षा तोकिएका छन्, जसले हामीलाई आफ्नो महान पर्व मनाउन नै नदिने अवस्था बनाएको छ। सरकार र कलेज प्रशासनले हाम्रो संस्कृति र आस्थाप्रतिको कदर गर्नुपर्छ।“
मधेसी विद्यार्थी, शिक्षक र कर्मचारीहरूले छठ पर्वका सम्पूर्ण तीन दिन (खरना, मुख्य पूजा र भोलिपल्ट) मा पूर्ण बिदा दिनुपर्ने, विद्यार्थीहरूको परीक्षा तालिका फेरबदल गर्नुपर्ने, मधेसी समुदायको धार्मिक आस्था, परम्परा र सांस्कृतिक पहिचानको सम्मान सुनिश्चित गर्नुपर्ने सरकार समक्ष माग गरेका छन ।
माग पुरा नभए सामूहिक पहल र ज्ञापन पत्र बुझाइने अर्का युवा रामेश यादवले बताउनुभयो । माग पुरा नभए कार्तिक ९ गते सर्लाही जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने युवाहरुले निर्णय समेत गरेको छ। उक्त छलफलमा सहभागी युवा, विद्यार्थी र कर्मचारीहरूले अन्य जिल्लाका प्रशासन कार्यालयहरूमा पनि समान ज्ञापन बुझाउन आग्रह गरेका छन्।
नगेन्द्र चौधरीको नेतृत्वमा मधेसका विभिन्न प्रतिनिधिहरूले छठ बिदालाई राष्ट्रिय सम्मानका रूपमा मान्यता दिन सरकारसमक्ष माग गरेका छन्। मधेश प्रदेश सरकारले बिदा दिएको भए पनि,धेरैजसो विद्यार्थी र कर्मचारीहरू अन्य जिल्लामा कार्यरत वा अध्ययनरत भएकाले उनीहरू अझै पनि छठ पर्व मनाउन कठिनाइमा परेका छन्।
यसले बिदा नीति समान र व्यावहारिक रूपमा लागू गर्नुपर्ने आवश्यकता स्पष्ट देखाएको छ। सरकारले यस पर्वप्रतिको सम्मान स्वरूप सम्पूर्ण छठका दिनहरूमा बिदा दिई सांस्कृतिक समावेशिता र राष्ट्रिय एकताको सन्देश दिनु अत्यावश्यक रहेको युवाहरुको भनाइ छ ।