सर्लाहीमा धुमधामका साथ गोवद्र्धन पूजा मनाइयो

सर्लाहीमा धुमधामका साथ गोवद्र्धन पूजा मनाइएको छ । सर्लाही सहित तराइ मधेशमा बुधवार गोवर्धन पूजा धुमधामका साथ मनाइएको छ। जिल्लाका विभिन्न स्थानमा हिन्दु धर्मावलम्बीहरूले आस्था, उत्साह र परम्परागत रीतिथीत अनुसार गोवर्धन पूजा सम्पन्न गरेका छन्। भगवान् श्रीकृष्णले गोकुलवासीहरूलाई वर्षाको प्रकोपबाट जोगाउन गोवर्धन पर्वत उठाएर संरक्षण गरेको दिनको स्मरणमा यो पर्व मनाइन्छ।
त्यसै श्रद्धाले आज सर्लाहीका गाउँ–गाउँमा गोबर र माटोको गोवर्धन पर्वतको प्रतीक तयार गरी पूजाआजा गरिएको थियो। गाई, बैल र अन्य पशुपालनका साधनहरूलाई स्नान गराई टीका, माला र रङले सजाइएको थियो। घरघरमा अन्नकूटको भोग तयार गरी भगवान् श्रीकृष्ण, गोवर्धन पर्वत र गाईबस्तुलाई अर्पण गरिएको थियो।
सर्लाहीको चन्द्रनगर, हरिपुर्वा, मलंगवा, ईश्वरपुर, लालबन्दी र गोडैता क्षेत्रमा एका बिहानै गोवर्धन पूजा गरिएको थियो। गोवर्धन पूजामा महिलाहरुले पहिला आफनो सन्तानलाई श्राप दिइ मार्ने र पछी पुन जिवित गर्ने चलन छ । पुजाको बेलामा महिलाहरु थरीथरीका लोक धार्मिक गित गाएर कथा वाचन गरेर पुजा समापन गरेको वर्तालु महिलाहरुले बताएका छन ।
धार्मिक विद्वानहरूका अनुसार, गोवर्धन पूजा धार्मिक कर्म नभई पर्यावरण र कृषि संरक्षणको सन्देश पनि हो । प्रकृति, पशु र मानवबिचको सहअस्तित्वलाई सुदृढ बनाउने सन्देशका रूपमा गाउँ–शहरमा मनाउने गरिन्छ । पछिलो समय गाईवस्तु पालक कृषकको कमी, संस्कार र संस्कृति पुस्तान्तरण ग्रहण गर्ने नव पुस्ताको सोच र लगावमा कमि लगायतका कारण गोवर्धन पूजा र यस दिन गाईवस्तुलाई खेलाउने हुराहुररी खेल विरलै देख्न पाइने गरेको छ ।