छठ पर्वको अवसरमा गोडैता–२, जयपुरमा सरसफाइ अभियान सम्पन्न

सर्लाही । तराई–मधेसको महान पर्व छठ पूजाको अवसरमा नव जागरुक युवा क्लब, गोडैता–२, जयपुरको आयोजनामा आज पहिलो चरणको छठ घाट तथा सार्वजनिक स्थान सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा बिओपी बहादुरपुरका इन्चार्ज सुरेश बुढाथोकी, मधुवन गोठ प्रहरी चौकीका इन्चार्ज दिपेन्द्र पाण्डे, पूर्व वडासदस्य सितल मुखिया, विद्यालय व्यवस्थापन समितिका सदस्य सम्भु मुखिया, लक्ष्मी महतो, कुमारी देवी राम, नागेन्द्र महतो, रामसिहासन कुशवाहा, अनिल महतो, सुशील कुशवाहा लगायत स्थानीय शिक्षाप्रेमी, समाजसेवी, विकासप्रेमी युवा, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
“सफाइ हाम्रो जिम्मेवारी हो — पवित्रता, सन्देश र एकताको भावनासँग छठ पर्व मनाऔं” भन्ने नारासहित सञ्चालन गरिएको सो कार्यक्रम जनता आधारभूत विद्यालय, जयपुरको प्राङ्गणबाट सुरु भई जयपुर गोठ, रामजानकी मठ, महारानी स्थान हुँदै छठ घाटसम्म सरसफाइ गरिएको हो।
कार्यक्रममा बोल्दै बिओपी बहादुरपुरका इन्चार्ज सुरेश बुढाथोकीले टोल–टोलको सरसफाइमा स्थानीयवासीको भूमिका महत्वपूर्ण हुने बताउँदै समाजिक कार्यमा आफू सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार सडक अतिक्रमण, फोहोर फाल्ने, पराल र भुस सडकछेउमा राख्ने जस्ता गतिविधिले समाज कुरूप र दुर्गन्धित बनेको छ भने दुर्घटनाको जोखिम समेत बढेको छ।
स्थानीय युवा रामसिहासन कुशवाहाले क्लबले पहिलो पटक सरसफाइ कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै यसको निरन्तरता आवश्यक रहेको बताए। उनका अनुसार फोहोरको उचित व्यवस्थापन नभएका कारण लामखुट्टेको संख्या बढ्दै गएको र महामारी फैलिने खतरा समेत देखिएको छ।
कार्यक्रमका अन्त्यमा क्लबका अध्यक्ष सर्वजित महतोले उपस्थित सम्पूर्ण युवाहरूलाई धन्यवाद दिँदै, व्यवस्थापनका केही कमजोरी भए पनि युवाहरूको उत्साहले आफूहरूलाई थप ऊर्जा प्रदान गरेको बताए। उनले आगामी दिनमा पनि सफाइ र सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै, क्लबका सचिव इन्दल महतोले युवाहरूमा असिम सम्भावना रहेको भन्दै गाउँ–टोलको विकास र समृद्धिमा युवा नेतृत्वको भूमिका निर्णायक हुने बताए।



