७ माघ २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेकपाका नेता श्रेष्ठद्वारा सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता, – Nigrani Today
Uncategorized

नेकपाका नेता श्रेष्ठद्वारा सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता,

सर्लाही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ। श्रेष्ठले सर्लाहीको हरिवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै नेता श्रेष्ठले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपाको तर्फबाट सर्लाही–३ बाट उम्मेदवारी दिएको जानकारी गराउनुभयो। उहाँले यस निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाता तथा जनसमुदायसँग साथ, सहयोग र समर्थनका लागि हार्दिक अपील गर्नुभयो।
श्रेष्ठले आम निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अहिले हुन लागेको निर्वाचन ‘जेन–जी आन्दोलन’ पछिको देशको विशेष परिस्थितिमा समयअघि सम्पन्न हुन लागेको महत्वपूर्ण निर्वाचन भएको बताउनुभयो। उहाँका अनुसार देश यतिबेला राष्ट्रिय स्वाधीनता र आत्मसमर्पणवाद तथा अग्रगमन र प्रतिगमनबीचको संघर्षको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ।
“यस निर्वाचनले वैदेशिक हस्तक्षेपलाई प्रोत्साहन गर्ने आत्मसमर्पणवाद र प्रतिगमनलाई परास्त गर्दै राष्ट्रिय स्वाधीनता र अग्रगमनको पक्षमा फैसला लिनुपर्ने ऐतिहासिक जिम्मेवारी बोकेको छ,” श्रेष्ठले भन्नुभयो।
अग्रगमन भनेको संविधान र लोकतन्त्रको रक्षा गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायको लक्ष्य हासिल गर्नु भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय स्वाधीनता, सुशासन, रोजगारी, स्वास्थ्य र शिक्षा आजका प्रमुख राष्ट्रिय कार्यभार भएको बताउनुभयो। यी मुद्दालाई केन्द्रमा राखेर आफू उम्मेदवार बनेको उहाँको भनाइ छ।
श्रेष्ठले सर्लाहीका जनताको अनुरोध र संविधान तथा कानुनको व्यवस्था अनुसार सर्लाही–३ बाट उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो। २०७० सालको निर्वाचनमा पनि सर्लाहीबाट उम्मेदवारी दिन आग्रह भए पनि त्यसबेला पूरा गर्न नसकिएको भन्दै यसपटक उक्त अनुरोध स्वीकार गरेको उहाँले बताउनुभयो।
सर्लाही जिल्लामा लामो समयदेखि पार्टी काम तथा उत्पीडित वर्ग र समुदायको पक्षमा संघर्षमा संलग्न हुँदै आएको स्मरण गर्दै श्रेष्ठले सर्लाहीका जनताको संघर्षशीलता, सद्भाव र सहयोगले आफूलाई यहाँ आउन प्रेरित गरेको बताउनुभयो।
मधेश–तराई क्षेत्र जनसंख्या घनत्व र सामाजिक विविधताको केन्द्र भएको उल्लेख गर्दै श्रेष्ठले आर्यखस, जनजाति, मधेशी, मुस्लिम, दलितलगायत सबै समुदायबीचको सुदृढ एकताले हिमाल, पहाड र तराई–मधेशबीचको सम्बन्ध मजबुत बनाउँदै राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। यही उद्देश्यका साथ सर्लाही–३ बाट उम्मेदवारी दिएको उहाँको भनाइ छ।
विकासमा पछाडि परेको सर्लाही जिल्ला तथा समग्र मधेशको विकासमा गुणात्मक योगदान पुर्‍याई देशको विकासलाई फड्कोमा पुर्‍याउने नेतृत्व गर्ने लक्ष्य पनि आफ्नो उम्मेदवारीको मुख्य आधार रहेको श्रेष्ठले बताउनुभयो। मधेशी जनतामा विद्यमान राज्यबाट भएको भेदभाव र उत्पीडनको मनोविज्ञान अन्त्य गरी राष्ट्रिय एकता मजबुत बनाउन सर्लाही आएको उहाँले उल्लेख गर्नुभयो।
आफ्नो राजनीतिक र सार्वजनिक जीवन पारदर्शी रहेको दाबी गर्दै श्रेष्ठले भ्रष्टाचार, घुसखोरी र अनियमितताविरुद्ध कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारमा रहँदा सुशासनका अभियान सञ्चालन गरेको उल्लेख गर्दै उहाँले मजदूर, किसान, श्रमिक, दलित, महिला, जनजाति, मधेशी, मुस्लिम, थारुलगायत सबै उत्पीडित वर्ग र समुदायको पक्षमा सधैं संघर्षरत रहने बताउनुभयो।
सर्लाही–३ बाट श्रेष्ठसँगै नेकपा एमालेका तर्फबाट निवर्तमान प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेती र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साहलगायतले पनि उम्मेदवारी दर्ता गराएका छन्। साह यसअघि उप्रेतीसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button