बरहथवा घटनाका मृत्क जय शंकर साहको आमालाई राहत वापतको रु. १० लाख रकम हस्तान्तरण
सर्लाही,१४ जेष्ठ । सर्लाहीको बरहथवा नगरपालिकामा एक मृत्क परिवारलाई राहत वापतको रु. १० लाख रकम हस्तान्तरण गरिएको छ । सुरक्षाकर्मी र प्रदर्शकारी बीच ०८० पुस २० गते झडप हुँदा प्रहरीको गोली लागी बरहथवा नगरपालिका–६ बस्ने २६ वर्षीय जय शंकर साहको मृत्यु भएको थियो ।
सर्लाहीको बरहथवा नगरपालिकामा स्वास्थ्य चौकी स्तरोउन्नती गर्ने विषयमा भएको विदादको क्रममा मृत्यु भएको साहको आमालाई आज रु. १० लाखको चेक हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, जिसस प्रमुख कौशल किशोर सिंह, बरहथवा न.पा. का नगर प्रमुख कल्पना कटुवाल लगायक सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा मृत्कको घरमै पुगेर चेक हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाही होटेल एण्ड पार्टी प्यालेश देखि उत्तर तर्फ रहेको गोदम (कुखुराहरुको दान राख्ने स्थान) मा जान लागेको जय शंकर साहलाई बरहथवा नगरपालिका–५ स्थित विधुत प्राधिकरण कार्यालयको पश्चिमतर्फ रहेको बाटोको पुलमा प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो ।