
महोत्तरी, १३ फागुन ।महोत्तरीको एकडारा गाउँपालिकामा ५० जना कृषकलाई कृषि उपकरण वितरण गरिएको छ।
एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत कृषकलाई कृषि उपकरण वितरण गरिएको हो ।
ब्यवसायिक कृषि खेति प्रवद्र्धनका लागि कृषि सामाग्री, उपकरण, विउविजन लगायतको सामग्री आज किसानहरूलाई हस्तान्तरण गरिएको छ।
कृषि सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै एकडारा गाउँपालिका वडा नं. ४ का अध्यक्ष जिवछ प्रसाद यादवले कृषि उत्पादन, तरकारी खेति आदिलाई थप वृद्धि गर्न कृषि सामाग्रीले लाभग्राहीहरुलाई मद्दत गर्ने बताउनुभयो ।
संस्थाका निवर्तमान सचिव उमेश न्यौपानेका अनुसार वितरण गरिएका सामाग्रीहरुमा मोटर पम्प, पाइप, स्प्रे ट्यांकी, हजारी, कुटो कोदालो, खुर्पी, बिउविजन आदि रहेका छन् ।
अति जोखिममा परेका घरधुरीहरुको कृषि उत्पादन बढाउन र तरकारी खेतिलाई प्रोत्साहन गरी जीविकोपार्जनमा योगदान गर्ने उद्देश्यले सामाग्रीहरु बितरण गरिएको न्यौपानेले जानकारी दिनुभयो ।
आज वितरण गरिएका सामाग्रीको लागत प्रति लाभग्राही १२ हजार ५ सय रुपैयाँ बराबर रहेको संस्थाको कार्यक्रम अधिकृत आरती चौधरीले जानकारी दिनुभयो ।