५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रौतहट सुन्दरपुरको गढीमाई मेलाको विधिवत रूपमा गरियो उद्घाटन – Nigrani Today
ताजा खबरधर्म दर्शनप्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय

रौतहट सुन्दरपुरको गढीमाई मेलाको विधिवत रूपमा गरियो उद्घाटन

मेलाको विधिवत रूपमा गरियो उद्घाटन

प्रदीप कुमार दास, रौतहट ।

मङ्सीर १८ गते , मंगलबार ।

 

रौतहट जिल्लाको गढीमाई नगरपालिका, संग्रामपुर-४ सुन्दरपुरमा आयोजित एसियाकै दोस्रो ठूलो पञ्चवर्षीय गढीमाई मेला महोत्सव २०८१ विधिवत रूपमा दीप प्रज्वलन गरी नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहद्वारा उद्घाटन गरिएको छ । यो मेला गढीमाई मन्दिरको ऐतिहासिक महत्त्व, धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक मानिन्छ ।

कार्यक्रममा विशिष्ट अतिथिहरूको उपस्थिति उल्लेखनीय रहेको थियो । प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादव, मधेश प्रदेशका अर्थमन्त्री सुनिल भन्ने जितेन्द्र प्रसाद यादव, प्रदेश सांसद शेख फुलबाबु, रौतहट जिल्लाका विभिन्न नगरपालिकाका प्रमुखहरू — गढीमाई नगर प्रमुख श्याम प्रसाद यादव, बृन्दावन नगर प्रमुख बिनोद प्रसाद पटेल,गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल, कटहरिया नगर प्रमुख अजय प्रकाश जैसवाल, माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादव र राजपुर नगर प्रमुख रजिक आलम लगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता र स्थानीय भद्रभलादमीहरू कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा सहभागी अतिथिहरूले गढीमाई मेलाको सांस्कृतिक, धार्मिक र आर्थिक महत्त्वलाई औंल्याउँदै यसलाई अझ व्यवस्थित र पर्यटकमैत्री बनाउन आग्रह गरे ।

गढीमाई मेलामा देशभरका साथै छिमेकी देश भारतबाट पनि लाखौं श्रद्धालुहरूको भीड लाग्ने अपेक्षा गरिएको छ । मेलामा दर्शनार्थीहरूको खानपान, आवास र सुरक्षाका लागि विशेष व्यवस्थापन गरिएको छ । मनोरञ्जनका लागि विभिन्न खेल, तमाशा र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ ।

मेलाको मुख्य आकर्षणका रूपमा यही आउँदो मंसिर २० गते भोजपुरी सुपरस्टार नायक खेसारी लाल यादव र कलाकार/नायिका रचना शिवाकोटीको प्रस्तुति रहनेछ । खेसारी लाल यादवसँगै अन्य चर्चित कलाकारहरूले पनि दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रमहरु रहेको मेला समितिले जानकारी दिएको छ ।

गढीमाई मेला नेपालको मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि ख्याति प्राप्त छ । धार्मिक आस्थाको केन्द्र गढीमाई मन्दिरमा पञ्चवर्षीय मेलाको आयोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ ।

कार्यक्रममा सहभागी अतिथिहरूले मेलाको सफल आयोजनाका लागि सबै पक्षलाई सहकार्य गर्न आह्वान गर्दै, यसले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

गढीमाई मेला स्थानीयवासीका लागि गर्वको विषय हो । मेलाले नजिकैका व्यवसायीहरू, किसानहरू, हस्तकला उत्पादकहरू र होटल व्यवसायीहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ । यस अवसरमा स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले मेलाको थप विकासका लागि दीर्घकालीन योजना बनाउने प्रतिबद्धता व्यक्त गरे ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button