सर्लाहीको बलरा र रामनगरमा विपन्न दलित परिवारलाई फाइबर सिरक वितरण
सर्लाही । चिसो र शीतलहरको प्रभावबाट बच्न सर्लाही जिल्लाको बलरा नगरपालिका वडा नं. ६ र रामनगर गाउँपालिका वडा नं. २ का १ सय ५२ अतिविपन्न दलित परिवारलाई फाइबर सिरक वितरण गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट आयोजित वितरण कार्यक्रम प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहा, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक बिनोदराज खनाल, अर्नाहा प्रहरी चौकीका इन्चार्ज, वडा अध्यक्ष तथा अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो।
विपद् व्यवस्थापन समितिले चिसो मौसममा नागरिकलाई राहत पुर्याउने उद्देश्यले यस किसिमका सहयोग कार्यक्रम गर्दै आएको छ। यसअघि पनि पर्सा गाउँपालिकाका विपन्न परिवारलाई फाइबर सिरक वितरण गरिएको थियो।
वितरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अत्यधिक चिसोमा हुने स्वास्थ्य समस्याबाट बच्न सजग रहन र सरकारी सहयोगको उचित उपयोग गर्न अनुरोध गरे। स्थानीय जनप्रतिनिधिहरूले विपद् व्यवस्थापन समिति र सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोग कार्यक्रमले विपन्न परिवारलाई राहत पुर्याउने विश्वास व्यक्त गरेका छन्।
यश अघि पर्सा गाउँपालिका वडा नं. ३ र ५ का ६८ घर परिवारलाई फाइवर सिरक वितरण गरिएको छ।