चन्द्रनगरमा सहिद रामवृक्ष यादवको ३१औँ स्मृति दिवसमा वृक्षरोपण कार्यक्रम सम्पन्न

महान सहिद कमरेड रामवृक्ष यादवज्यूको ३१औँ स्मृति दिवसको अवसरमा सोमबार सर्लाही जिल्लाको चन्द्रनगरमा वृक्षरोपण कार्यक्रम गरिएको छ।
चन्द्रनगर गाउँपालिका मूल कमिटीको विशेष पहल र वाइसीएल नेपाल चन्द्रनगरको आयोजनामा चन्द्रनगर गाउँपालिका वडा नं ४ पोखरिया बजारदेखि ब्रहमपुरी सिमानासम्म वृक्षारोपण कार्यक्रम गरिएको छ।
वातावरणीय सन्तुलन कायम गर्न, प्रदूषण न्यूनीकरण गर्न तथा समाजमा हरियाली विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सडकको दुवैतर्फ विभिन्न किसिमका अक्सिजनयुक्त बोट बिरुवाहरू रोपिएका छन्।
कार्यक्रमको अध्यक्षता नेकपा (माओवादी केन्द्र) चन्द्रनगर गाउँपालिकाका अध्यक्ष कमरेड लोकेन्द्र मुखियाले गर्नुभएको थियो। उहाँले स्मृति दिवसलाई केवल सम्झना गर्ने दिन मात्र नभई समाज र प्रकृतिप्रति दायित्व निर्वाह गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राख्दै युवापुस्तालाई वृक्षरोपण र संरक्षणतर्फ सचेत रहन आह्वान गर्नुभयो।
सो अवसरमा पुर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रमोद साहले सहिद रामवृक्ष यादवको बलिदान मधेशी जनताको अधिकार र पहिचानको आन्दोलनमा ऐतिहासिक योगदान भएको स्मरण गर्नुभयो। उहाँले सहिदको सपनालाई साकार पार्ने जिम्मेवारी आजको पुस्ताले लिनुपर्ने उल्लेख गर्दै सहिदको नाममा गरिएको वृक्षरोपण अभियान वातावरण संरक्षणसँगै स्मृतिको दीर्घकालीन जग बसाउने पहल भएको बताउनुभयो।
कार्यक्रममा माओवादी केन्द्रका नेताहरू,जिल्ला समन्वय समिति सर्लाहीका उपसभापति जितेन्द्र कुशवाहा, गाउँपालिका उपाध्यक्ष गिता देवी महतो, कार्यकर्ता, बुद्धिजीवी, समाजसेवीको समेत सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले बोट बिरुवा रोपेर मात्र नभई यसको संरक्षणमा निरन्तर ध्यान दिनुपर्नेमा जोड दिए।
स्मृति दिवसकै अवसरमा सहिद यादवको जीवनी, संघर्षका उपलब्धि तथा मधेश आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदानमाथि समेत छलफल गरिएको थियो। सहभागीहरूले सहिदको आदर्शलाई आत्मसात गर्दै समतामूलक समाज निर्माण र स्वच्छ वातावरण सिर्जनामा निरन्तर लाग्ने नेताहरूले प्रतिबद्धता व्यक्त गरे।