प्रमुख जिल्ला अधिकारीसँग होटल व्यवसायी संघको भेट, व्यवसाय सहज बनाउन आग्रह

काठमाडौं÷ जिल्ला होटल व्यवसायी संघ काठमाडौँको टोलीले काठमाडौँका प्रमुख जिल्ला अधिकारी समक्ष व्यवसायीव्यवसायसँग सम्बन्धित विभिन्न समस्याहरू राख्दै तत्काल समाधानका लागि आग्रह गरेका छन्।काठमाण्डौ जिल्ला होटल व्यवसायी संघका अध्यक्ष सुरेश बरालको अध्यक्षतामा गएको टोलीले प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई भेट गरी व्यवसाय सञ्चालनमा देखिएका चुनौतीबारे औपचारिकरूपमा जानकारी गराएका हुन् ।
उपाध्यक्ष भविश्य दुबे, कोषाध्यक्ष विष्णु प्रसाद घिमिरे, उपमहासचिव शिवलाल गिरी लगायत संघका पदाधिकारीहरूले विशेषगरी हाल राति ११ बजेसम्म मात्र होटल सञ्चालन गर्न दिइएको व्यवस्थाले व्यवसायमा प्रतिकूल असर परेको भन्दै आपत्ति जनाएका थिए ।उनीहरूले ठमेल, दरबारमार्ग जस्ता पर्यटक क्षेत्रका होटलहरूलाई २४ घण्टा सञ्चालनको अनुमति दिइरहेको अवस्थामा काठमाण्डौका अन्य होटल व्यवसायीलाई पनि कम्तीमा मध्यराति १२ बजेसम्म सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे।
व्यवसायीहरूले संघीय कानुन अनुसार होटल सञ्चालनमा सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै, कानूनसम्मत र व्यवस्थित वातावरण निर्माण गरिदिन प्रमुख जिल्ला अधिकारीसँग माग गरे।सो अवसरमा प्रमुख जिल्ला अधिकारी छवि रिजालले व्यवसायीहरूले उठाएका माग र समस्याबारे सम्बद्ध निकायसँग छलफल गरी समाधान खोज्ने आश्वासन दिएका थिए। उनले होटल व्यवसायलाई व्यवस्थित र सुरक्षासहित सञ्चालन गर्न प्रशासन सधैं सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।